कार्यकर्तामा शेखर, नेतापङ्क्तिमा देउवा बलवान

कार्यकर्तामा शेखर, नेतापङ्क्तिमा देउवा बलवान


आगामी वर्ष हुने चौधौँ महाधिवेशनमा नेपाली काङ्ग्रेसको सभापति बन्न चार नेता मैदानमा उत्रिएका छन् । महाधिवेशनमा उम्मेदवारी दिने सङ्ख्याबारे अहिले नै यकिन गर्न नसकिए पनि सभापति बन्ने प्रतिस्पर्धामा चार नेता अग्रसर भएको देखिएको छ ।

चारजना प्रतिस्पर्धीमा शेरबहादुर देउवाको गुटबाट देउवा एक्ला छन् भने कोइराला पक्षबाट तीनजना नेता प्रतिस्पर्धामा उत्रिने तयारी गर्दै छन् । कोइराला पक्षका डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला र रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने जोडदार तयारीका साथ अगाडि आएका छन् ।

तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलाले यसपटक पनि अन्त्यमा गएर शेरबहादुर देउवालाई नै समर्थन गर्ने सम्भावना छ । अर्का सम्मानित नेता कुलबहादुर गुरुङले पनि गत महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । आगामी महाधिवेशनमा रामचन्द्र पौडेललाई समर्थन नगर्ने निश्चित भए पनि शेरबहादुर देउवा, शेखर कोइराला र शशाङ्क कोइरालामध्ये कसलाई समर्थन गर्ने भन्ने यकिन छैन । त्यस्तै, पूर्वसभामुख एवम् नेता तारानाथ रानाभाट, नेताहरू लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइरालालगायत पनि अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

हिन्दूराष्ट्रको एजेण्डा काङ्ग्रेसले बोक्नुपर्छ भन्ने मान्यता राख्ने रानाभाट, घिमिरे र कोइरालाले शशाङ्क र शेखरमध्ये एकको पक्षमा आफूहरूलाई उभ्याउने सम्भावना छ । काङ्ग्रेसमा यतिबेला सिटौलाको समेत पाँच गुट अस्तित्वमा देखिन्छ । तर, सिटौला पछिल्लो समयमा ज्यादै कमजोर भएकोले बाँकी चारमध्ये एउटा पक्षसँग सम्झौता गरेर राजनीति बचाउनु उनको बाध्यता बनेको छ । त्यसैले अहिले काङ्ग्रेसका चारवटा गुट मात्र अलिक सक्रिय र प्रभावकारी देखिएका छन् । गुटको अगुवाइ शेरबहादुर देउवा, डा. शेखर कोइराला, डा. सशाङ्क कोइराला र रामचन्द्र पौडेलले गरेका छन् ।

उल्लिखित चार नेतामध्ये देउवा र पौडेललाई पुराना नेताहरूमध्येको समर्थन ज्यादा देखिन्छ, तर दुवै नेता कार्यकर्तापङ्क्तिमा सर्वाधिक अलोकप्रिय मानिन्छन् । काङ्ग्रेसको कार्यकर्तापङ्क्तिमा डा. शेखर कोइराला सर्वाधिक लोकप्रिय मानिएका छन् भने त्यसपछि बीपीको सहोदर पुत्र भएकोले शशाङ्क कोइरालाको नाम पनि कार्यकर्ताहरूले सम्मान साथ लिने गरेको पाइएको छ ।