फेरि गले प्रचण्ड !

फेरि गले प्रचण्ड !


नेकपाको आन्तरिक शक्ति सन्तुलनको स्थिति बदलिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपण र उहाँको स्वास्थ्यमा भइरहेको सुधारले आमदेशवासीलाई खुसी तुल्याएको भए पनि सत्तारुढ नेकपाका केही नेतामा भने स्वस्थ केपी आफ्ना निम्ति घातक हुन सक्छ भन्ने चिन्ताभाव पाइएको छ । खासगरी प्रचण्ड र उहाँका केही समर्थकहरूमा त्यसप्रकारको अस्वाभाविक चिन्ता देखिएको छ ।

स्मरणीय तर दुःखद तथ्य के हो भने गत भदौमा केपी ओली उपचारका निम्ति सिङ्गापुर जानुहुँदा पनि प्रचण्ड ‘अर्कै विश्वास’मा हुनुहुन्थ्यो र उहाँका समर्थक सञ्चारमाध्यमहरू केपीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक भएको सन्दर्भ–सामग्री रमाइरमाई प्रकाशन–प्रसारण गर्ने गर्दथे । प्रधानमन्त्रीको ‘डायलाइसिस’ शुरु भएपछि पनि त्यस्ता केही सञ्चारमाध्यमहरू ‘खुसीसाथ’ दुःखद समाचार सम्प्रेषण गर्ने गर्दथे । यसपालि दोस्रोपटक मिर्गौला प्रत्यारोपणका निम्ति प्रधानमन्त्री अस्पताल भर्ना हुनुभएपछि पनि केही नेता र केही सञ्चारमाध्यमहरू ‘असंवेदनशील’ भएको महसूस गरिएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभ गरेपछि आगामी दुई साताभित्रै नियमित काममा फर्कने सोच बनाउनुभएको सम्बद्ध सूत्रहरूबाट थाहा भएको छ । प्राप्त जानकारीअनुसार केपी अब नयाँ सोच, नयाँ योजना र नयाँ रणनीतिका साथ अगाडि बढ्नुहुने भएको छ । केपीको नयाँ गति र योजना देश र जनताका निम्ति कति उपयोगी हुन सक्ला, यो समयाक्रममा स्पष्ट हुने नै छ । तर, प्रचण्डका निम्ति भने आगामी दिनहरू सहज र सुखद रहने सङ्केत देखिएको छैन ।

तीन महिनाअघि प्रचण्डलाई ‘कार्यकारी’ अध्यक्षको हैसियत दिँदा प्रधानमन्त्री ओलीले यसपछि प्रचण्ड ‘पार्टी काममा केन्द्रित हुने’ र ‘सरकारप्रति असहिष्णु नबन्ने’ अपेक्षा राख्नुभएको थियो । तर, प्रचण्डको व्यवहार केपीको अपेक्षाविपरीत हुन पुग्यो । दुई अध्यक्षबीचको सहमतिबाट हरेक निर्णय लिइने र पाँच वर्ष पूरा अवधि केपी ओलीकै नेतृत्वको सरकारलाई निरन्तरता दिइने भनी सहमतिपूर्ण निर्णय भएकोमा उल्लिखित दुवै निर्णय पालना गर्न प्रचण्डले चाहनुभएन । सभामुख चयनका क्रममा प्रधानमन्त्रीसँग परामर्श नगरी सचिवालयको बहुमतका आधारमा प्रचण्डले निर्णय गराउनुभएको थियो भने फागुन महिनाभित्रै केपीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव राख्ने र अन्ततः प्रधानमन्त्री पदबाट हटाउने योजना पनि प्रचण्डले बनाउनुभएको थियो, अझै त्यस्तो योजनामा हुनुहुन्छ ।

केही समययता माधवकुमार नेपाललाई प्रयोग गरी केपीलाई सत्ताबाट विस्थापित गर्ने प्रयास प्रचण्डले गर्दै आउनुभएको हो, तर स्वयम् माधव नेपालले पार्टी अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएछ भने पनि प्रचण्ड त्यसमा बाधक बन्न सक्नुहुन्छ ।

यसबीचमा प्रचण्डबाट आफ्नाविरुद्ध भइरहेका हरेक गतिविधिबारे जानकारी पाएर पनि प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया जनाउनुभएको थिएन । उहाँले पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य उपचारलाई दिनुभएको छ । विपक्षीहरूबाट आफूलाई व्यवधान पुऱ्याउने स्थिति नभए पनि पार्टीभित्रका केही नेताको कार्य–व्यवहारबाट प्रधानमन्त्री हैरान हुनुहुन्थ्यो, तर स्वास्थ्यका कारण प्रतिक्रियात्मक कदम चाल्ने सोच उहाँले बनाउनुभएको थिएन । अब प्रधानमन्त्रीले सरकारको स्थायित्व तथा सुरक्षा र सफलताका निम्ति नयाँ योजनाका साथ अघि बढ्ने सम्भावना देखिएको छ ।

प्रचण्डले पूर्वसहमति लत्याएको हुनाले उहाँको कार्यकारी अध्यक्षको हैसियत खोसियो भने आश्चर्य मान्नुपर्दैन । वरिष्ठ नेता माधवकुमार नेपाललगायतका खासखास नेताहरूसँग केपी ओलीले दिगो एकता कायम गर्नुहुने सङ्केतहरू देखिएका छन् । त्यसैले नेकपामा माधवकुमार नेपालको भूमिका र हैसियत बढ्ने कुरालाई इन्कार गर्न सकिँदैन । प्रचण्डको अहिलेसम्मका सम्पूर्ण प्रयास आफूलाई पार्टी र राज्यसत्ताको एकलौटी मालिक बनाउने उद्देश्यबाट प्रेरित रहेको अब धेरैले बुझ्न थालेका छन् । प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्षका निम्ति आफूबाहेक अरू कसैलाई पनि योग्य ठान्नुहुन्न ।

केही समययता माधवकुमार नेपाललाई प्रयोग गरी केपीलाई सत्ताबाट विस्थापित गर्ने प्रयास प्रचण्डले गर्दै आउनुभएको हो, तर स्वयम् माधव नेपालले पार्टी अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएछ भने पनि प्रचण्ड त्यसमा बाधक बन्न सक्नुहुन्छ । र, पछिल्लो समयमा नेकपाका अधिकांश नेताले प्रचण्डलाई चिन्न थालेका पनि छन् । अध्यक्ष केपी ओलीले प्रचण्डलाई आफ्नो औकात देखाइदिन चाहनुभयो भने त्यसमा नेकपाका अधिकांश नेताहरूको साथ ओलीलाई रहने सम्भावना बढ्दै छ । त्यसैले आगामी दिन प्रचण्डका निम्ति निकै कठिन हुन सक्ने देखिएको छ ।

केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट मुक्त गराउने योजनाका साथ क्रियाशील प्रचण्ड अन्ततः आफ्नै स्थान सुरक्षाका निम्ति सीमित र चिन्तित हुनुपर्ने अवस्थामा पुगिसक्नुभएको छ । प्रचण्ड कमजोर हुँदा त्यसको सम्पूर्ण लाभ माधवकुमार नेपाललाई पुग्ने निश्चित मानिएको छ ।

गत असारमा पनि प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने अन्तिम तयारीमा हुनुहुन्थ्यो । माधवकुमार नेपालको साथ नमिलेपछि प्रचण्ड त्यसबेला असफल हुनुभएको थियो । अहिले आफ्नो योजनामा प्रचण्ड फेरि पनि असफल हुने पृष्ठभूमि बनिसकेको छ । अब आफ्नो हैसियत मात्र जोगाउन पनि प्रचण्डले ठूलै कसरत गर्नुपर्ने देखिएको छ ।