१० महिनासम्म देशभरिका जनतालाई पुग्ने नुन मौज्दात छ : साल्ट ट्रेडिङ

१० महिनासम्म देशभरिका जनतालाई पुग्ने नुन मौज्दात छ : साल्ट ट्रेडिङ


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालले हाल आफूसँग नेपालभरिका जनतालाई १० महिनासम्म पुग्ने नुन मौज्दात भएकोले कसैलाई पनि नुन अभाव हुन नदिने जनाएको छ ।

साल्ट ट्रेडिङले एक विज्ञप्ति जारी गर्दै आफूसँग १,५५,२०९ मेट्रिक टन नुन मौज्दात रहेको र सो परिमाणको नुनले नेपालभरिका जनतालाई १० महिनासम्म पुग्ने जनाएको छ । हाल कोरोना भाइरसको कारण उपभोक्ताले नुन आपूर्ति बन्द हुने भन्दै बढी खरिद गर्ने र विक्रेताले कृत्रिम अभाव सिर्जना गर्दै मूल्य वृद्धि गरिरहेकोमा भन्नेजस्ता बजार हल्ला सत्य नरहेको जनाएको छ ।

विगतमा पनि कृत्रिम अभाव सिर्जना गर्दै भएका मूल्य वृद्धिजस्ता विकृतिलाई निस्तेज पार्दै कर्पोरेसनले उच्च गुणस्तर, उचित मूल्य र उपलब्धतालाई सुनिश्चित गर्दै देश, जनता र आमउपभोक्तालाई इमानदारीका साथ सेवा गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैगरी कर्पोरेसनसँग १० हजार मेट्रिक टन चिनी, ४०,६६२.४३ मेट्रिक टन मल र आठ सय मेट्रिक टन न्युज प्रिन्ट कागज मौज्दात रहेको जनाएको छ ।