निगमको दोहा उडान स्थगित

निगमको दोहा उडान स्थगित


नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको निगमले जनाएको छ ।

०७६ फागुन २६ गते र सो भन्दापछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमको भनाई छ ।

ज्ञातव्य छ, नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।