देउवाबाट केही भएन, नेतृत्व परिवर्तन अपरिहार्य : डा. शेखर कोइराला

देउवाबाट केही भएन, नेतृत्व परिवर्तन अपरिहार्य : डा. शेखर कोइराला


नेपाली कांग्रेसमा भागबण्डाको राजनीतिले मौलाइरहेको र यसले पार्टीलाई गलत दिशातर्फ लगिरहेको सो पार्टीका नेता डा शेखर कोइरालाले बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहाले आइतबार (२५ फागुन) लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने– ‘भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन ।’

उनले आफू कुनै गुट वा उपगुटको राजनीति नगर्ने र हरदम भागबण्डाको राजनीतिविरुद्धमा उभिने प्रतिबद्धता पनि प्रकट गरे ।

गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिँदै डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको औंल्याए ।

कांग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कोइराला परिवार एक ढिक्का रहेको र आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने बताए । डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो ।

कोइराला परिवारका उल्लेखित तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्ने शेखरको धारणा छ ।