विश्वमाझ ‘स्वयम्भू’ चिनाउँदै नारायणकाजी

विश्वमाझ ‘स्वयम्भू’ चिनाउँदै नारायणकाजी


  • छविलाल बगाले, पोर्चुगल

पोर्चुगलमा पनि स्वयम्भू छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । स्वयम्भूको नाम सुन्नेवित्तिकै जो कसैलाई पनि लाग्न सक्छ कि एकपटक पुगिहालौं । भित्तामा देखिने स्वयम्भूका चित्र । गौतम बृद्धको प्रतिमा र ध्वजापताकाका दृश्य । कहिल्यै नपुगेकाहरु पुग्ने चाहना राख्छन् भने एकपटक पुगेकाहरु पुनः पुग्ने मन गर्छन् ।

स्थायी घर सोलुखुम्बुको नेले भएपनि काठमाडौंको स्वयम्भूलाई पोर्चुगलको राजधानी लिस्वनमा प्रचार गराउँदैछन् एक युवा । जसको नाम हो नारायणकाजी मगर । उनले आन्जुसमा भएको आफ्नो रेष्टुरेन्टको नाम स्वयम्भू नै राखेर प्रवासी नेपालीलाई स्वयम्भूको झ–झल्को मेटाइदिएका छन् ।

पोर्चुगल आगमनको शुरुवातमा गौतम बृद्धको नाम राखेर व्यवसाय आरम्भ गरेपनि केही समयपछि नाम परिवर्तन गरेर स्वयम्भू नै राखेको नारायणकाजी बताउँछन् । उनकै भनाईलाई आधार मान्दा रेष्टुरेन्टको नाम स्वयम्भू राख्दा एकपटक नेपाल घुम्न गएका विदेशी समेत खुसी भएको उनको बुझाई छ । ‘बुद्ध विश्वभर नै विख्यात नाम हो । तर स्वयम्भूको प्रचार हामीले नै गराउनु पर्छ । त्यसैले म प्रचारमा लागि परेको हुँ ।’ नारायणकाजीले भने, ‘व्यवसाय र प्रचार एकैपटक भएको छ । यसप्रति म खुसी छु ।’

झण्डै ६ बर्षअघि पोर्चुगल आइपुगेका उनी कामदारबाट अहिले संचालक बनेका छन् । उनको अहिले रेष्टुरेन्ट र पसल गरी दुईवटा व्यवसाय एकसाथ अघि बढेको छ ।

शुरुमा सामान्य लगानीबाट पसल शुरु गरेका उनले केही समयपछि रेष्टुरेन्ट व्यवसाय पनि थपेका हुन् । ‘व्यवसायमा समय र लगानी भए मुनाफा आर्जन गर्न कठिनाई छैन् ।’ उनले भने, ‘मानिसमा धैर्य चाँही आवश्यक छ, अर्काको काम गर्नुभन्दा व्यवसाय गर्दा राम्रो मुनाफा आर्जन गर्न सकिन्छ ।’ त्यसो त पोर्चुगलमा विभिन्न क्षेत्रमा धेरै नेपालीको लगानी छ । रेष्टुरेन्ट, पसल, बार्बर, व्युटीसिएनका क्षेत्रमा नेपालीको लगानी छ ।

‘टिपिकल’ नेपाली खाना स्वयम्भूको पहिचान

प्रवासमा नेपाली स्वादका खाना खान पाउँदा जो कसैले पनि आनन्दको अनुभुति गर्छन् । त्यसमा पनि राष्ट्रिय खाना ढिंडो र गुन्द्रुकले नेपालीमाझ स्थान पाएको संचालक नारायणकाजी बताउँछन् । ‘नेपालदेखि आयात गरिएका गुन्द्रुक, कोदोको पिठो, बोडी, भटमासबाट बन्ने खानाहरु नै स्वयम्भूको वास्तविक पहिचान हो ।’ उनले भने, ‘मुस्ताङ, मनाङ, सोलुखुम्बु लगायतका हिमाली क्षेत्रमा पाइने खानालाई आयात गरेर नेपाली र विदेशीलाई यसको स्वाद चखाउने गरेको छु ।’ उनका अनुसार खानामा थकाली, मनाङ मुस्ताङमा पाइने दाल, नेपाली थकाली थाली, नेवारी खाना, ढिडो र गुन्द्रुक, पोर्चुगलमा पाइने लोकल कुखुुराको मासु नेपालीको रोजाईमा पर्ने गरेका छन् ।

अनलाइनले बढायो व्यापार

नारायणकाजी प्रविधिमा पनि उत्तिकै चलाख छन् । स्वयम्भूमा पाकेको नेपाली खानालाई अनलाइनमार्फत पनि बेच्न खप्पिस छन् । व्यापारको २५ प्रतिशत अंश अनलाइनमार्फत बिक्रि हुने गरेको उनी सुनाउँछन् । ‘उवर इट्स’ मार्फत नेपालीहरुले घरमै बसेर पनि स्वयम्भूको स्वाद लिन पाउने उनको भनाई छ । उनका अनुसार थकाली, नेवारी र राष्ट्रिय खानाका परिकार, मम लगायतका खानाहरु ‘उवर इट्स’ मार्फत बिक्रि हुने गरेको छ ।

नेपाली स्वादमा झुम्मिदै विदेशी

४० प्रतिशत विदेशी नेपाली खानाका नियमित ग्राहक भएको अनुभव नारायणकाजी सुनाउँछन् । उनले भारत, पोर्चुगल, बंगलादेश, पाकिस्तान लगायतका नागरिक नेपाली स्वादमा रमाउने बताए । ‘मेरो व्यवसाय ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशीले धानेको छ ।’ उनि भन्छन्, ‘एकातिर नेपाली स्वादका खानाको प्रचार भएको छ भने अर्कोतिर व्यवसाय पनि चम्केको छ ।’

नारायणकाजी र भलिवल एकअर्काका परिपूरक

भलिवलप्रतिको सोख नारायणकाजीमा सानैदेखिको हो । भलिवलमा जीवन देखेका उनले जिल्ला, क्षेत्र, केन्द्र हुँदै अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रतिभा देखाउन भ्याइसकेका छन् । एसएलसी पछि अध्ययन र अवसरको खोजीमा काठमाडौं छिरेका उनले भलिवलप्रतिको आफ्नो क्षमतामा थप निखार ल्याउने अवसर पनि पाए । ‘खेलाडी हुँदै म राष्ट्रिय खेलकुद परिषदमा समेत पुगें ।’ उनले भने, ‘राखेपको भलिवल विधामा १२/१३ बर्ष विताउँदा धेरै खेलाडी समेत उत्पादन भए । जुन राष्ट्र र संस्थाको लागि सुखद विषय हो ।’ लामो समयसम्म रेफ्रि समेत गर्न भ्याएका नारायणकाजी आफ्नो क्षमतालाई यूरोपमा समेत देखाउँदै छन् । ‘अहिले म व्यवसायको सिलसिलामा पोर्चुगल छु ।’ उनले भने, ‘प्रवासमा रहँदा पनि भलिवलप्रतिको माया र सदभाव भने उत्तिकै छ । त्यसैले समय समयमा नेपालीबिच यूरोपस्तरिय भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छु ।’

व्यवसायसँगै संघ संस्थामा पनि उत्तिकै लगाव

परिवार र आफ्नो भविष्यको रेखा कोर्न अफ्रिका हुँदै पोर्चुगल छिरेका नारायणकाजी अहिले व्यवसायी मात्रै छैनन् । सामाजिक संस्थामा पनि उनको उत्तिकै लगाव छ । एनआरएनए पोर्चुगलको उपाध्यक्षदेखि आइसिसि सदस्यसम्म पुगेका छन् । स्थानीय मगर समाजको समेत अध्यक्ष भएर काम गरेका नारायणकाजी नेपाली समाजलाई विवादरहित बनाउन चाहन्छन् । ‘प्रवासमा रहँदा नेपाली समाजको ठूलो आवश्यकता पर्छ ।’ उनले भने, ‘समाजलाई सबैको साथ र सहयोग भएमा कुनैपनि नेपालीलाई परेको दुःख समाधान हुन्छ । त्यसैले हामी एक भएर सकारत्मक सोचको विकास गर्न आवश्यक छ ।’

व्यवसाय गर्न युवालाई प्रोत्सहान

नारायणकाजीले भविष्य खोज्दै पोर्चुगल छिरेका युवाहरुलाई व्यापार गर्न सल्लाह दिन्छन् । उनले काम गरेको सानो पुँजीलाई फजुल खर्च नगरी सानो व्यवसाय शुरु गर्दा सफल भइने दावी गर्छन् । पोर्चुगल आफ्नो सपनाको सहर भएको भन्ने उनले सानो लगानीको व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने बताउँछन् । पछिल्लो समय पोर्चुगलका विभिन्न सहरहरमा नेपालीले संचालन गरेका व्यवसाय चम्केको पनि छ । नेपालीहरुको विशेषगरी रेष्टुरेन्ट, पसल, फोटो स्टुडियो, बार्बर, श्रङ्गार लगायतका क्षेत्रमा लगानी छ । उनका अनुसार अहिले पोर्चुगलमा ५ हजार यूरोदेखि माथि लाखौं मूल्य बराबरका लगानी नेपालीको छ । पोर्चुगलमा व्यापार गर्नका लागि सरकारी कागजपत्र बनाउन पनि कठिनाई नभएको दावी नारायणकाजीको छ ।