मिस नेवाको ट्यालेन्ट राउन्ड सम्पन्न

मिस नेवाको ट्यालेन्ट राउन्ड सम्पन्न


नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार (२४ फागुन) भएको कार्यक्रममा २२ प्रतियोगी आफ्ना प्रस्तुति राखे ।

मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवारी समुदायमा मानिने संस्कृतिसम्बन्धी प्रस्तुति राखे । ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आनन्द बज्राचार्य र रीना गोसेली थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा ११३८ प्रिती बुद्धाचार्य, नेवा मिसा पुच कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्याम्ह पुच अध्यक्ष मधुसुधन जोशीलगायतले बोलेका थिए ।

मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छिन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा हुनेले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिने बताइएको छ । उत्कृष्ट नेवारी भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र पाउने छन् ।

नेपालमा नेवार समुदायको देशको समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा उल्लेख्य योगदान छ । नेपाल संवत् ११३१ देखि बर्सेनी हुँदै आएको यो प्रतियोगिताको नवौं संस्करण हो । नवौं संस्करणको फाइनल आगामी चैत ८ गते पोखरा सभागृहमा हुनेछ ।