चैत ४ देखि साधारण शेयर बिक्री गर्दै पूनर्बीमा कम्पनी

चैत ४ देखि साधारण शेयर बिक्री गर्दै पूनर्बीमा कम्पनी


धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको हो । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार (२३ फागुन) एक आह्वानपत्रसमेत सार्वजनिक गरिसकेको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

यस्तै, कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्ने बताइएको छ ।