बीपी कोइरालाद्वारा पार्टी निर्माणको निम्ति आह्वान

बीपी कोइरालाद्वारा पार्टी निर्माणको निम्ति आह्वान


(वि.सं. २००३ सालमा बीपीद्वारा जारी वक्तव्य)

नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्नका लागि आफ्नो सङ्गठन नहुनु दुःखको कुरो हो । त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय सङ्गठन पक्कै छन् । तर, आजको समयको माग नेपालमा जवाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता–प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय सङ्गठन बनोस् भन्ने छ ।

यसप्रकार, नेपालीसामु पहिलो नेपालतर्फ र दोस्रो भारततर्फ–दुईतर्फी जिम्मेवारी छन् । नेपाल हरेक दृष्टिबाट खराब मार्गमा चल्दै छ । त्यहाँ कुनै प्रकारको स्वतन्त्रता छैन । कानुनभन्दा माथिबाट शासन चल्छ । र, जनता अन्धविश्वास र अज्ञानले आक्रान्त छन् । छोटकरीमा भन्नुपर्दा, त्यहाँ दुनियाँमा कतैको प्रशासनसँग पनि तुलना हुन नसक्ने किसिमको निकम्मा प्रशासन छ । स्वभावैले नेपालीको पहिलो जिम्मेवारी आफ्नो राष्ट्रप्रति रहन्छ । किनभने, त्यो जतिसुकै खराब भए पनि लाखौँ नेपाली मानिसको राजनीतिक र सांस्कृतिक प्रेरणाको स्रोत त्यही नै हुन्छ ।

तर, हामीले भारततर्फको आफ्नो जिम्मेवारी पनि भुल्नुहुँदैन । नेपाल भारतकै अभिन्न भाग हो । तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्ण रूपमा प्रभावित हुन्छ । त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ । पहिले र अहिले सञ्चालित नेपाली सङ्गठनले नेपालीहरूको जिम्मेवारीको यस पक्षमा पर्याप्त दृष्टि पुऱ्याउन नसक्नु दुःखद पक्ष हो । भारतको स्वतन्त्रताप्राप्तिको जीवन–मरणको लडाइँमा उनीहरूमध्ये धेरैले व्यक्तिगत रूपमा भाग लिएको भए पनि सङ्गठनका रूपमा भने भाग लिएका छैनन् । त्यसले गर्दा यसबेला नेपाल र भारत दुवैतर्फ विचार पुऱ्याउने किसिमको नेपालीहरूको अखिल भातीय सङ्गठनको अत्यन्त खाँचो छ ।

हाम्रो देशका धेरै व्यक्तिले मलाई यस दिशामा पहल गर्न आग्रह गरिरहेका छन् । यो जिम्मेवारी मैले स्वीकार गरेको छु र चाँडै नै नेपाली प्रतिनिधिहरूको एउटा सानो बैठक पनि बोलाउँदै छु । यस सम्बन्धमा नेपाल र भारतका दुवैतर्फका मेरा मित्रहरूबाट यसबीच प्राप्त हुने सुझावलाई स्वागत गर्दछु । उहाँहरूबाट सुझाव प्राप्त भइसकेपछि म बैठकको मिति र स्थान तय गर्नेछु । तसर्थ, यस्तो भावना भएका नेपालीलाई सम्पर्क गर्न म सार्वजनिक आह्वान गर्दछु । मेरो वर्तमान ठेगाना छ- कोशी नुक, ब्यान्डरोड, पटना ।

(द सर्च लाइट, पटना अक्टुबर २, १९४६)

(स्रोत- प्रदिप गिरि : विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख २०६६)

नेपाली काङ्ग्रेस ऐतिहासिक दस्तावेजहरू