फिरन्ते युग झल्काउने मान्छेहरू

फिरन्ते युग झल्काउने मान्छेहरू


राउटे जाति फिरन्ते जङ्गली जाति हो । सृष्टिको उषाकालीन मिर्मिरेमा शायद हामी पनि यस्तै फिरन्ते र घुमन्ते थियौँ । समयको प्रवाहमा बग्दै र हेलिँदै आज हामी यो अवस्थामा आइपुगेका छौँ, तर यो राउटे जाति आदिम युगको अन्तिम अवशेषको रूपमा देखिएको छ । लाग्छ– राउटेहरू नै मानव सभ्यताका अन्तिम जङ्गली जाति हुन् । यिनीहरूको निश्चित बसोवास हुँदैन । ठाउँ सर्दै घुम्दै जाने र सिकार गरेर जीविका चलाउने अनि अन्य व्यवसायको हकमा काठको सरसामान तयार पारेर बेच्ने यी फिरन्ते जातिसम्बन्धी खोजखबर, प्रत्यक्ष भेटघाटको अनुभव, उनीहरूको रहन–सहन, जीवनशैली, संस्कार–संस्कृति, स्थिर बसोवास र कृषि व्यवसाय आदिका बारेमा उनीहरूको विचार अनि नागरिकता र निर्वाचनका सम्बन्धमा उनीहरूको रुचिबारे यहाँ केही चर्चा गरिन्छ ।

वर्तमान संसार फेसनको दौडमा छ । नयाँ–नयाँ लुगा जतिसक्दो आकर्षक बनाएर लगाउने हामी मानवजस्तै एकाथरी मानव राउटेहरू आज पनि सिएको कडपा लगाउँदैनन् । गादो पटुका र फेटाले शरीर ढाक्नुलाई उनीहरू यथेष्ट ठान्दछन् । तर, बस्तीको प्रभावले होला महिला राउटेहरूले चाहिँ ब्लाउजसम्म लगाएका देखिन्छन् । छिटका फरिया लगाउँछन् र अन्य कपडाहरू शरीरमा सपस्क बेर्छन् । कोही–कोही कपाल कोरेर चिटिक्क परेका देखिन्छन् त कोही गुजुल्टे कपालमा यत्रतत्र हिँडिरहेका हुन्छन् । फलामका गहनाहरू लगाउँछन् । फलामकै ५–६ वटा बालाहरू लगाउँछन् र त्यसैबाट आफ्नो हात सजिएको महसुस गर्दछन् । गलामा झपक्क पोतेका लुङ र निधारमा टीका महिलाको शोभाकारक तत्व रहेका छन् । पुरुषका हकमा सिएको कपडा भनेको टोपी मात्रै हो । चाहे पाँच ठाउँमा च्यातिएको नै किन नहोस् (टोपी लगाउनमा राउटेहरू गौरव गर्दछन् ।)

खेती–पाती र पशुपालन गर्नलाई उनीहरू मर्नुसमान ठान्दछन् । पुख्र्यौली पेसा, व्यवसाय स्वीकार गरेर जीवन चलाउनु र दैवी शक्तिमाथि अगाध आस्था राख्नु उनीहरूको विशेषता हो । उनीहरू बाबुबराजुले जे गरे त्यही गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । स्थिर घर बनाएर बसोवास गर्नु र पशुपालन तथा कृषि पेसा पुर्खाले नगरेकाले हामीले पनि गर्नुहुँदैन– यो धर्मविपरीत, परम्पराविपरीत हुन्छ भन्नेले खेतीपाती र पशुपालनबाट सुख हुन्छ भन्लान्, तर त्यो झन् ठूलो दुःख हो । ‘हामीलाई भगवान्ले जन्माएका हुन्, हाम्रो पालन र पोषण पनि भगवान्ले नै गर्छन् ।’ यस्ता दार्शनिक खालका अभिव्यक्ति व्यक्त गर्दछन् राउटेहरू ।

गिठ्ठा, भ्याकुरलगायत वनमा प्राप्त हुने वन्य कन्दमूल र गुना बाँदरको सिकार उनीहरूको खाद्यान्नको मूल स्रोत हो । यसका अतिरिक्त काठको कोसी, आरी, खाट र सन्दुस बनाउँछन् । मानवबस्तीमा आएर अन्नमा साट्छन् । काठ काट्ने आफ्नैखाले हतियार हुन्छन् । काठका सामान बनाउँदा फलामको किला प्रयोग गर्दैनन् । आफ्नो काठका उत्पादन साट्न सजिलो हुने गरी जङ्गलको बीचमा वा छेउछाउमा आफ्नो शिविर बसाल्छन् । त्यहाँ सिकार सकिन थालेपछि र गाउँमा पनि काठका सामानको आवश्यकता पूर्ति भइसकेपछि उनीहरू शिविर अन्यत्रै सार्दछन् । भन्ने चलन छ– छाप्रोको छानामा धुवाँ लागेपछि राउटेहरू बसाइँ सर्छन् । तर धुवाँ लागेरै सरेकोचाहिँ नहुनुपर्छ । सिकार पाउन छाडेपछि र वन्य कन्दमूल पनि अप्राप्य भएपछि बसाइँ सर्नु स्वाभाविकै हो । त्यसरी बसाइँ सर्दा छाप्रामा अलिअलि धुवाँ लागिसकेको हुनु पनि स्वाभाविक छ ।

उनीहरू प्रायः काठ र सिलभरका भाँडाहरू नै प्रयोग गर्छन् । पानीसमेत काठका ठेकीमा ओसार्छन् । साना–साना बच्चाबच्चीहरू काठको आरीमा ओसार्छन् भने अलि वयस्क युवतीहरूचाहिँ ५–६ वटा आरीभरिको पानी टाउकोमा राखेर ल्याउँछन् । उनीहरू अरूले छोएको पानी खाँदैनन् । हामी राउटेहरूको शिविर गएको बेला उनीहरूको शिविरनजिकै पानीको सानो तुर्तुरे धारो रहेछ र सँगै सानो कुवा । त्यही धारोको पानी कुवामा जम्मा भएको रहेछ । घाम, उकाली र तिर्खाले हाम्रो आँत निकै हर्हराएको थियो । पातको खोची बनाएर हामीले त्यही कुवाको पानी खायौँ । उनीहरूले टाढाबाट हेरिसकेका थिए । पछि उनीहरू त्यहीँ आए । कुवाको सबै पानी उभाएर फ्याँकेर फेरि पानी जमाए अनि आफ्नो ठेकी भरेर लगे ।

विशेषतः घुमन्ते जाति भएकाले र जङ्गलमै बस्ने हुनाले खुट्टाभरि घारीले कोरिएका, छर्छरी रगत बगिरहेका, कतै रगतका टाटा बसेका र कतै फोका उठेका दर्दनाक स्थिति पनि देख्न पाइन्छ । केटाकेटी र स्वास्नीमान्छेहरू बाहिरी मान्छेको उपस्थितिप्रति बढी भयभीत देखिन्छन् । आफ्नो छाप्रो छोडेर बाहिर जान डराउँछन् । तर, अचम्म त के छ भने भर्खर जन्मेका शिशुहरूलाई थाङ्नामा च्यापेर यताउति दौडिरहेका हुन्छन् । त्यसरी उफार्दा–थचार्दा पनि नदुख्ने–नरुने ती बच्चाहरू देख्दा जन्मैदेखि जङ्गली पीडा स्वीकार गर्न सक्ने क्षमता लिएर आएका रहेछन् कि जस्तो लाग्छ ।

(नवराज लम्साल, घटना र विचार साप्ताहिक, २०५२ माघ १७ गते बुधबार)