कोरोना नै सही बरु !

कोरोना नै सही बरु !


■ राजेन्द्र पाठक

पचास रुपैयाँको तमसुकले सातपुस्ता कजायो
सोही तमसुकको विरोधीले आजतक बजायो !
राणा राजा पञ्चायत लोकतन्त्र गणतन्त्र लजायो
दरिद्र नक्कली इन्क्लाब भन्नेले घर–महल सजायो !!

जहानियाँहरुले जनतालाई पुस्तौँपुस्ता माऱ्यो
सयौँ–हज्जारौँ होनहारलाई पासोमा पाऱ्यो !
मिसाइल बनाउने शक्तिशालीले कतिलाई माऱ्यो
लाखौँ–करोडौँ निमुखालाई घरबारविहीन पाऱ्यो !!

अरुको शक्ति भरोसामा देशमा राजनीति गऱ्यो
झुटमुठ चुनावी नारा ब्यानर तयार पाऱ्यो !
एकदिन चुनावक्षेत्र चाहाऱ्यो मैदानलाई सिँङ्गाऱ्यो
पाँच वर्ष शासन गऱ्यो जहानियाँ जाल तयार पाऱ्यो !!

शक्तिशालीले निमुखालाई मार्ने श्रृङ्खला चल्यो
दिनदहाडै सुर्यसामु बत्ती दियो पिलपिल बल्यो !
बम बन्दुक र मिसाइलले कमजोरलाई मात्र ताक्छ
कोरोनाले धनी गरिव शक्त–अशक्त नभनी जाक्छ !!

कोरोना न्यायको देवता शनि र यमराज जस्तै हो
सामुन्ने सगोलमा जो–जो पर्छ सोही–सोही सोहोऱ्यो !
राजा रंङ्क सबैलाई समान नजरिया राख्छ त्यो
कोरोना त समाजवादी अझै साम्यवादी रहेछ यो !!

शक्तिशाली धनाढ्य भन्नेलाई बल्ल हेक्का भएछ
प्रकृतिभन्दा विवेकी शक्तिशाली कोही नहुने रहेछ !
तेश्रो विश्वयुद्धको परिकल्पना गर्थे भविष्यवेत्ताहरु
मानवले बनाएको विभेदभन्दा कोरोना नै सही बरु !!