कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तरुण दलले बजार हस्तक्षेप गर्न सक्ने

कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तरुण दलले बजार हस्तक्षेप गर्न सक्ने


कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ ।

कांग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारको उदासिनता कायम रहे जनताको अधिकारका लागि पार्टीका तरुण युवाले खबरदारी गर्ने बताए ।

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न आवश्यक चिकित्सकीय उपकरण र औषधिको तयारीका लागि सरकारलाई आग्रह गर्दै यसको जोखिमबारे जनस्तरसम्म जनचेतना फैलाउन तरुण युवा परिचालन हुने जानकारी पनि नेता भण्डारीले दिए ।

केन्द्रीय सदस्य भण्डरीले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध ढङ्गले अघि बढाइने बताए । यस्तै, सञ्चारकर्मीसँग कुराकानी गर्दै तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले पार्टीको निर्देशनबमोजिम देशभरका शाखाहरुले सबै जिल्लामा कोरोना भाइरसको जोखिमबारे जनचेतना फैलाउन परिचालन हुने र कालोबजारी नियन्त्रण गर्न जनताका पक्षमा हस्तक्षेपसम्म गर्ने चेतावनी दिए ।

यसअघि नेपाली कांग्रेसले कोरोनाको सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबार (२१ फागुन)देखि नै लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिसकेको छ ।