‘आउनुहोस्, नेपाली गीत-संगीतमा झुमौँ’ : रामकृष्ण ढकाल

‘आउनुहोस्, नेपाली गीत-संगीतमा झुमौँ’ : रामकृष्ण ढकाल


■ राजन घिमिरे, अष्ट्रेलिया

‘करिब ७ वर्षएको अन्तरालमा फेरि सिड्नी आइपुगेको छु । मन फुरूङ्ग भएको छ । आउनुस् गीत–संगीतमा रमाऔँ’– बुधबार साँझ सिड्नी एअरपोर्ट उत्रिएका लोकप्रिय गायक रामकृष्ण ढकालले भने ।

कालजयी गीत गाएर नेपाली आधुनिक गीत–सङ्गीत यात्रामा उचाई छोएका गायक ढकाल शुक्रबार (६ मार्च) सिड्नीको रगडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने ‘रामकृष्ण ढकाल साँझ’मा प्रस्तुति दिन सिड्नी आइपुगेका हुन् । ढकाललाई स्टेजमा सिड्नीमै रहेका गायकद्वय सुजाता उपाध्याय र रमण रेग्मीले साथ दिने छन् ।

‘कार्यक्रममा म केही पुराना र केही नयाँ गीत प्रस्तुत गर्ने छु । सिड्नीमा रहनुहुने नेपाली संगीतप्रेमी श्रोताहरूलाई मेरो तर्फबाट भरपूर मनोरन्जन प्रदान गर्ने कोसिस गर्नेछु’ ढकालको प्रतिबद्धता छ ।

विगत तीन दशकदेखि गायनमा निरन्तर लागिपर्दै आएका स्रष्टाको रूपमा चिनिएका रामकृष्ण अहिले पुराना र नयाँ सबै वर्ग र क्षेत्रमा परिचित सर्जकको नाम हो । चलचित्रका गीत या आधुनिक तथा सुगम संगीत नै किन नहोस्– हरेक खालका गीत प्रस्तुत गर्ने मामिलामा अगाडि रहेका रामकृष्ण ढकालले पछिल्लोपटक गाएको चलचित्र ‘हिजो आजका कुरा’को जदौं बोलको गीत यतिबेला चर्चामा छ ।

‘मलाई मनपराउनु हुने नेपालीहरूको निमन्त्रणामा लामो समयपछि सिड्नी आएको छु । तपाईंहरूले मलाई दिनु भएको माया, साथ र सत्कारको सम्मान गर्दै म तपाईंहरूको मन जित्ने प्रयास गर्नेछु । आउनुस्, सँगै बसेर नेपाली गीत–संगीतमा झुमौँ’– रामकृष्णको आह्वान छ ।