कांग्रेसद्वारा तत्काल सबै तहका भेला, सम्मेलन र सभा स्थगन

कांग्रेसद्वारा तत्काल सबै तहका भेला, सम्मेलन र सभा स्थगन


नेपाली कांग्रेस पार्टीले पार्टी एवं पार्टीसँग आबद्ध संस्थाका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम हालका लागि स्थगन गरेको छ । अहिले विश्वमै देखिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सो कदम चालिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिएको छ ।’

हाल विश्वमा देखिएको कोरोनाको सामना पनि सरकार र सम्बन्धित निकायहरूलाई रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई दायित्वबोध गराउन कांग्रेसले अनुरोध गरेको छ । कोरोना फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले त्रिभुवन विमानस्थलमा अझ कडाइ गर्न र थलमार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरूमा स्वास्थ्य हेल्थ डेस्कको भरपर्दो स्थापनाका लागि सरकारसँग माग गरेको छ ।

तर, पार्टीको १४औँ महाधिवेशनसँग सम्बन्धित आन्तरिक कार्यक्रमहरू भने सम्बन्धित समितिहरूमार्फत जारी रहने विज्ञप्तिमा उल्लेख छ ।