खुशी केलाई मान्ने ?

खुशी केलाई मान्ने ?


बबिता बस्नेत

विवाहको सन्दर्भमा अहिले नगर भनेर सम्झाउँदा केही नलागेपछि दुई वर्षअघि आफ्नो सन्तानको खुशीको लागि ‘तिमीलाई जे गर्दा खुशी लाग्छ त्यही गर’ भनेका बाबुआमाले केही दिनअघि उही सन्तानलाई सम्बन्धविच्छेदका सन्दर्भमा पनि सोही कुरा भने, ‘तिमीलाई जे गर्दा खुशी लाग्छ त्यही गर ।’ जति सम्झाउँदा पनि नलागेपछि भन्ने अरू कुरा पनि थिएनन् । जिल्ला अदालतअगाडि उनीहरूले यो पङ्क्तिकारसँग भने– के गर्नु, सन्तानको खुशीका लागि…जुन शब्द दुई वर्षअघि विवाहका बेला उनीहरूकै मुखबाट सुनेकी थिएँ । अलि अमिल्दो तालमेलका कारण परिवार खुशी थिएन, तर सन्तानको खुशीको लागि भनेर चुपचाप थिए । विवाह गर्दा खुशी हुन्छु भन्ठानेकाहरू दुई वर्षपछि सम्बन्धविच्छेदपछि खुशी हुने ठानिरहेका थिए । नजाने त्यसपछि के–कस्ता मोडहरू जीवनमा आउने हुन् । खुशी केलाई मान्ने ? खुशीको मापदण्ड के हो ? छोटो समयमा आँखैअगाडि खुशीका नाममा भएको यो घटनाले खुशीका बारेमा सोच्न बाध्य बनायो ।

खुशी केलाई मान्ने ? केलाई ठान्ने ? धन सम्पत्ति, पैसा ? सम्बन्ध ? राम्रो सम्बन्ध भए आफूलाई पूर्ण मान्ने मान्छेहरूको सङ्ख्या ठूलो छ । खुशीकै लागि मानिसहरू प्रेम गर्छन्, विवाह गर्छन्, घुम्न जान्छन्, राम्रो लाउने, मिठो खाने, साथीभाइ, आफन्त, चाडबाड धेरै कुरा खुशीसँग जोडिएको हुन्छ । तर, अलिकति तलमाथि हुनेबित्तिकै यी सबै कुराबाट मानिसले पाउनेचाहिँ दुःख नै हो । प्रायः मानिसले आफ्नो खुशीलाई अरूको हात या साथमा राखेर हिँडेको देखिन्छ । कसैले राम्रो भनिदिँदा दङ्ग पर्ने, नराम्रो भनिदिँदा या गर्दा दुःखी हुनुको अर्थ आफ्नो खुशी अरूमा निहित हुनु नै हो । मानिसको माइन्ड यस्तो कुरा हो जसले कतिबेला के सोच्छ भन्न सकिन्न ।

हाम्रा सोच र परिकल्पनाहरूको कुनै सीमा छैन । आफ्नै माइन्ड त आफूले नियन्त्रणमा राख्न सकेन भने कतिबेला के गर्छ भन्न सकिन्न भने अरूले त कतिबेला के गर्छ के थाहा हुन्छ र ? त्यसैले अरूको हातमा खुशी रहने परिस्थिति हुन्जेल मानिस दुःखी भइरहन्छ । आफूले प्रेम गरेको मानिसले धोखा दिन सक्छ, राम्रो ठानिरहेको मानिस नराम्रो निस्किन सक्छ, विश्वास गरिरहेका साथीभाइले फरक व्यवहार गर्न सक्छन् । उनीहरूको बदलिँदो व्यवहारसँगै दुःखी हुन थाल्यो भने मानिसले आफूलाई कहिल्यै पनि खुशी राख्न सक्दैन । मानिसमा प्रायः आफ्नो परिस्थिति ठीकठाक भएको बेला सबैलाई ठीकठाक देख्ने र आफ्नो माहोल ठीक नहुँदा अरूलाई पनि खराब देख्ने प्रवृत्ति हुन्छ ।

आनन्दले जीवन बाँच्छु भनेर परिकल्पना गर्दा गर्दै जीवन सकिन्छ, तर आफूले चाहेकोजस्तो समय भोग्न पाउँदैन । त्यसबीचमा मानिसले आफू खुशी हुने कोसिस पनि नगर्ने होइनन्, गर्छन्, तर प्राप्ति र खुशीलाई सँगै जोडिदिँदा आफूले चाहेको खुशी पाउँदैनन् । किनभने प्राप्तिको कुनै सीमा हुँदैन ।

खुशीको सन्दर्भमा सद्गुरुको यो भनाइ राम्रो लागेको थियो– ‘गाडीहरू सेल्फ स्टार्ट भइसके मानिसचाहिँ अहिले पनि अरूमा खुशी खोजिरहेका छन् ।’ मानिसको खुशी सेल्फ स्टार्ट नहुन्जेल ऊ दुःखी भइरहन्छ भन्ने उहाँको निष्कर्ष हो । साथै उहाँले भन्नुभएको मानिस मन्दिर र भट्टी एउटै उद्देश्य लिएर जान्छ, त्यो हो खुशी र आनन्द भन्ने कुरा पनि चित्तबुझ्दो लागेको थियो । एक्लोपनका विषयमा उहाँले भन्नुभएका कुरा पनि मननयोग्य छन् । उहाँ भन्नुहुन्छ, ‘यदि जीवनमा कोही हुँदाहुँदै या कसैको साथ रहँदारहँदै तिमी एक्लो महसुस गर्छौ भने तिमी सही मानिससँग छैनौँ ।’

शास्त्र भन्छ– जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी हुन्छन्, विद्या, असल जीवनसाथी, नियमित पैसा आउने गरी खाने ठाउँ, राम्रो स्वास्थ्य र भनेको मान्ने अर्थात् आज्ञाकारी सन्तान । तर, यी पाँच कुरा एउटै मानिसको जीवनमा पाउन गाह्रो छ । कोही विद्वान् छन्, तर जीवनसाथीसँग समस्या छ । कसैको पतिपत्नीबीच सम्बन्ध राम्रो छ, तर धन आर्जन हुने ठाउँ छैन । कसैको पतिपत्नीबीच राम्रो सम्बन्ध छ, विद्या पनि छ, तर सन्तानबाट सुख छैन । कसैको सन्तानबाट सुख छ, काम पनि छ । सम्बन्ध पनि राम्रो छ, तर स्वास्थ्य राम्रो छैन । यी पाँचै कुराको तालमेल मिल्ने मान्छेहरूको सङ्ख्या सानो छ । जे–जस्तो परिस्थितिमा भए पनि आफू खुशी हुँदा संसार राम्रो देख्ने र दुःखी हुँदा संसार अँध्यारो देख्नेहरूको सङ्ख्या ठूलो छ ।

पति, पत्नी, छोराछोरी, बाबुआमा, घरपरिवार, आफन्त, पेसा, व्यवसाय… समय र परिस्थितिले मानिसलाई यसरी व्यस्त बनाइदिएको छ कि अरूको बारेमा सोच्दासोच्दै र अरूका लागि गर्दागर्दै आफ्नोबारेमा सोच्ने फुर्सदै हुँदैन । सानो छँदा पढाइलगायतको तनाव, पढाइ सकेपछि कामको तनाव, काम पाएपछि त्यसमा हासिल गर्नुपर्ने सफलता, त्यसपछि विवाह, अनि सन्तान, सन्तान भएपछि अनेक प्रकारका उत्तरदायित्वहरू, यसपछि त आनन्दले जीवन बाँच्छु भनेर परिकल्पना गर्दा गर्दै जीवन सकिन्छ, तर आफूले चाहेकोजस्तो समय भोग्न पाउँदैन । त्यसबीचमा मानिसले आफू खुशी हुने कोसिस पनि नगर्ने होइनन्, गर्छन्, तर प्राप्ति र खुशीलाई सँगै जोडिदिँदा आफूले चाहेको खुशी पाउँदैनन् । किनभने प्राप्तिको कुनै सीमा हुँदैन ।

खुशीको कुनै निश्चित सिद्धान्त छैन, न पढेर पाइन्छ न त किनेर नै । यो व्यक्तिको प्रवृत्तिमा निर्भर हुन्छ । तर, आत्मिक अभ्यास जारी राखे खुशी हरेक मानिसले प्राप्त गर्न सक्ने कुरा हो ।

एकपटक आर्यघाटमा लाश जलाउन ठीक पारेपछि पानी परेछ । छोराले आफ्नी आमालाई मुखाग्नि दिनका लागि सलाई कोर्दा पानीले निभाएछ । कोर्छ, निभ्छ, कोर्छ निभ्छ, सलाई कोर्ने, निभ्ने प्रक्रिया लामो समयसम्म चलेपछि जब सलाई बल्यो र बलि रह्यो छोराको मुहारमा खुशी देखिएछ । सलाई बल्यो भन्ने कुरामा उसको ध्यान गयो, तर केका लागि सलाई बालिरहेको छु भन्ने बिर्सियो, मुहारमा खुशी छायो । मानिसको जीवनमा खुशी परिस्थितिजन्य हुन्छ । तपाईं कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो सोच राख्नुहुन्छ त्यसमा भर पर्छ । तपाई खुशी हुनुहुन्न, तर खुशी देखाउने कोसिस गरिरहनुभएको छ भनं त्योचाहिँ दुःखद कुरा हो । किनभने आफूभित्र अनेक दुःख र पीडा हुँदाहुँदै बाहिर खुशी देखाउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ । आफूभित्रको अवस्थाभन्दा ठीकविपरीत देखिन खोज्नु त्यति सहज काम पनि होइन । तर, धेरैले यस्तो कोसिस गरिरहेको देखिन्छ ।

समग्रमा भन्नुपर्दा अरूको हातमा आफ्नो खुशी सुम्पिनेहरू प्रायः दुःखी हुन्छन् । मानिसको जीवनमा भावनात्मक चोट सबैभन्दा ठूलो कुरा हो । कसले कतिबेला चोट पुऱ्याउँछ भन्ने सकिँदैन । त्यसैले ती सबै कुराबाट मुक्ति पाउन मानिस आफैँ भावनात्मक रूपमा दह्रो हुन आवश्यक छ । आफूभित्रको लडाइँ त्यति सहज भने छैन । आफूले आफैँलाई सम्हाल्न सक्नु मानिसको जीवनमा ठूलो सफलता हो । क्षणिक खुशीमा हाँस्न जति सहज छ, आफू सधैँ खुशी रहने बाटो तय गर्नु त्यति नै कठिन छ । खुशीको कुनै निश्चित सिद्धान्त छैन, न पढेर पाइन्छ न त किनेर नै । यो व्यक्तिको प्रवृत्तिमा निर्भर हुन्छ । तर, आत्मिक अभ्यास जारी राखे खुशी हरेक मानिसले प्राप्त गर्न सक्ने कुरा हो ।