कोरोना भाइरससँग जुझ्ने चुनौती

कोरोना भाइरससँग जुझ्ने चुनौती


एकाएक प्रकट भई विश्वव्यापी बन्न लागेको कोरोना भाइरस सङ्क्रमणको छायामा अन्ततः नेपाल पनि परेको छ । साँध जोडिएको छिमेकी देशबाट उत्पत्ति भए पनि शुरुमा खासै चिन्ता दर्शाइएन । फगत वुहान (चीन)मा अल्झिएका पौने दुई सय आफ्ना नागरिकलाई स्वदेश उतार्ने कार्यसम्मलाई ‘आवश्यक’ ठानियो र त्यसपछि लगभग ढुक्कै बस्यो नेपाल सरकार । नेपाली नागरिक तप्का पनि चीनले झेलिरहेको समाचार सुनेर बस्नमै निमग्न रह्यो । तर, विश्व स्वास्थ्य सङ्गठनले नै जब नेपाललाई उच्च जोखिमको मुलुकको सूचीमा रहेको भन्दै औँल्याउन पुग्यो, सबैको कान ठाडा भएका छन् । सम्भवतः सरकारले पनि तब मात्र कोरोना सङ्क्रमणको प्रकोपबाट बच्ने उपाय गर्नैपर्ने अवस्थाको बोध गरेको हुनुपर्छ ।

फोहोर गरेपछि दैलो देख्ने उखान पुर्खाले त्यत्तिकै सिर्जना गरेका पक्कै होइनन् । बितिसकेपछि, बिग्रिसकेपछि मात्र मति फिर्ने समस्याबाट केही बढी नै ग्रस्त छौँ हामी । यही विशेषताको जगमा बनेको यो उखान अब चरितार्थ हुन नदिन जोडबल लगाउने बेला आएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने त्रासको सन्दर्भमा सरकारदेखि नागरिक तहसम्मका जनजनमा सचेतनाको सख्त जरुरत छ यतिबेला ।

हुन त कोरोना भाइरसआतङ्कको इतिहास अल्प नै छ । यसको रोकथाम तथा निर्मुल नै पार्ने उपायको खोजी अन्वेषक÷वैज्ञानिकहरूले गरिरहेकै छन् । जहाँसम्म यस अल्प अवधिको अनुभवले सङ्केत गरेको छ– संसारका कुनै पनि मुलुक यो सङ्कटको सामना गर्न पूर्ण तयार छैनन्, कस्तै उन्नत तथा विज्ञ–विशेषज्ञले भरिपूर्ण मुलुक पनि । पछिल्लो दुई साताको अनुभवले कोरोना भाइरस विश्वव्यापी महामारी हुने दिशामा अघि बढिसकेको बुझाउँछ । सोच्दै नसोचेका इरानलगायत मुलुक हुँदै अमेरिकासम्म यसको प्रकोप फैलिन पुगेको छ । चीनजस्तो कठोर अनुशासनमा रहेको देशले नियन्त्रणका यावत् उपाय अवलम्बन गर्दागर्दै अकल्पनीय क्षति व्यहोर्न विवश बनेको छ भने अमेरिकासमेत अत्यासिएर आफ्ना खास–खास क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्दै कोरोना भाइरससँग मुकाबिला गर्न सशङ्कित खडा हुनुपरेको अवस्था छ । यस्तो परिवेशबीच हाम्रोजस्तो देशमा यो विपद् आइलाग्यो भने यसलाई झेल्न सक्ने रत्तिभर तागत छैन भन्ने घामजत्तिकै छर्लङ्ग छ । पशुपतिनाथको भरोसामा सङ्कटमुक्त हुने कामना गर्नुको कुनै विकल्प हामीसँग छैन ।

कतै यो विश्वव्यापी महामारी हुने हो कि भन्ने जुन आशङ्का गरिएको थियो, अब आएर त्यो शङ्का यथार्थमा परिणत हुँदै छ । यो प्राणघाती विषाणु दक्षिण कोरिया, इटली, जापान, इरान, अमेरिकालगायत दर्जनौँ देश तथा महादेशमा केही दिनमै आश्चर्यजनक गतिले फैलिएको छ । भलै चीनबाट ल्याएर भक्तपुर क्वारेन्टाइनमा राखिएका नेपाली सबै सकुशल घर फर्किएका छन्, तर विश्वव्यापी परिदृश्य हेर्दा नेपालमा पनि कोरोना भाइरस प्रवेश गरेर सङ्क्रमण गरिरहेको नहोला भन्ने कुनै आधार छैन । शरीरमा प्रवेश गरिसक्दा पनि शुरुमा खासै कुनै लक्षण नदेखिने यसको खतर्नाक पाटोका कारण पनि थप खतरा महसुस गर्नुपरेको हो ।

अब स्वतः जिज्ञासा जागृत हुन्छ कि नेपाल सरकार यस सम्भावित भयावह समस्या जुझ्न के–कस्तो तयारी गरिरहेको छ त ? सरकार यस विषयप्रति संवेदनशील रहेको छैन भनी आरोपित गर्नुपर्ने कुनै कारण वा अवस्था आजका दिनसम्म पक्कै पनि छैन । यस मामलामा मूल प्रश्न सरकारी संवेदनशीलताको भन्दा पनि क्षमता प्रदर्शनको रहन्छ । संसारका कुनै पनि मुलुक यो सङ्कटको सामना गर्न पूर्ण तयार नरहेको परिवेशमा नेपाल सरकारले खास केही गर्न सक्दैन भन्ने ज्ञान हरेक सचेत नेपालीलाई भएकै कुरा हो । रातारात क्षमता गुमाएको नभई हाम्रो मुलुकको औकात नै यस्तै भएकोले वर्तमान सरकारलाई असक्षम भनी आरोप लगाउने गुञ्जायस पक्कै रहँदैन ।

तसर्थ, सरकारले आफ्नो तहबाट गर्ने कार्य सुरक्षाको निम्ति अवलम्बन गर्नुपर्ने पूर्वतयारीबारे सचेतना जगाउने कार्य गरेको छ । अत्यावश्यक कार्यबिना विदेश नजान आग्रह गर्नुका साथै विदेशबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने परिस्थिति उत्पन्न भएमा भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने तथा काठमाडौं उपत्यका तथा प्रदेशमा रहेका सरकारी–निजी अस्पताल, स्वास्थ्य सेवाप्रदायक संस्थाहरूलाई ‘आइसोलेसन वार्ड’को प्रबन्ध मिलाउन र तयारी अवस्थामा रहन सरकारले निर्देशन दिएको छ । यसभन्दा ज्यादा नेपाल सरकारले गर्न सक्ने केही छैन पनि । तसर्थ, सरकारको मुख नताकी नागरिक स्वयम् सतर्क भई सचेत व्यवहार गर्नु मात्र कोरोना भाइरसविरुद्धको एक ‘उपाय’ देखिएको छ । सतर्क रहौँ !