पत्रकारिता : पेसागत सामयिक सवाल

पत्रकारिता : पेसागत सामयिक सवाल


■ राजबाबु शंकर

नेपालमा पत्रकारिताको बटमलाइन जस्तै हो– भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्धको आमप्रस्तुति । विगतका दशकमा राजनीतिलाई सर्वाधिक प्राथमिकतामा राखेको पत्रकारिताले लगभग दुई दशकयता भने फरक मोड लिएको छ । अधिकतर विकास, न्याय, सुशासन र सशक्तीकरणका सवालमा समाचार सम्प्रेषण भइरहेका पाइन्छन् ।

यसै पनि पत्रकारिताले समाजलाई झकझकाउने र सामयिक परिवर्तनअपेक्षु जनमतको अगुवाइ गर्छ र गर्नलाई उत्प्रेरकको काम गर्छ । दैनिकजसो जे घटना वा क्रियाकलाप हुन्छन्, त्यसको सही सूचना दिनु नै पत्रकारिताको मूल सिद्धान्त हो । अर्थात् पत्रकारिताको मूल्य–मान्यता भनेकै आमनागरिकलाई जानकारी दिनु हो । ढिलै समाचार दिए पनि सत्य–तथ्य दिने गर्नुपर्छ । किन पनि भने पत्रकारिताको मुख्य आधार विश्वसनीयता हो र त्यसले नै पत्रकारिताको स्तर पनि निर्धारण गर्ने हो ।

हरेक पेसामा झैँ पत्रकारिता पेसामा पनि विकृति नभएको होइन । अचेल पत्रकारहरू राजनीतिक दलका प्रवक्ताजस्ता मात्र नभएर हुलाकी नै जस्ता भएका छन् । अझ सल्लाहकारसमेत भएका छन् । समाजसँग प्रत्यक्ष जोडिएको पेसाकर्मीको त्यस्तो आबद्धता पत्रकारिताको पेसाजन्य मर्यादा होइन । हिजोआज पत्रकारहरू नै विभिन्न पार्टीका सङ्गठनमा विभाज्य छन् । पत्रकारलाई आफ्नो सीपमा विश्वास नहुँदा यस्ता क्रियाकलापलाई मलजल पुग्ने हुन्छ । अवसर प्राप्तिका खातिर शासन–प्रशासनसँग नजिक हुनलाई त्यस्तो गरिएको आमबुझाइबीच कतिपय पत्रकार समाचारको खोजीमा होइन, कमाइ र अवसरको खोजीमा व्यस्त पाइन्छन् । त्यही भएर पनि हुनुपर्छ– पाठकहरूमा यस पेसाप्रति नकारात्मक भावना विकसित भइरहेको भान हुन्छ । सञ्चारकर्मीहरू यसप्रकार बढी आलोचित हुनु अन्यथा किन नमान्दा हुने भएको छ भने हाल हरेक क्षेत्र र पेसामा गाली र ताली सामान्यजस्तै भइसकेको छ ।

पत्रकारिताका माध्यमबाट लिपिबद्ध समाचार, आलेख र घटना इतिहासको दस्तावेज पनि हो । कुनै पार्टी वा दलले सरकारमा पुगेर पनि राम्रो काम गर्न सकेन, गरेन भने त्यो पत्रकारको तारोमा पर्नु अस्वाभाविक मान्न सकिन्न । कामको आधारमा सरकारको मात्र नभएर न्यायालय, प्रशासन, सामाजिक र पेसाकर्मी सङ्घ–सङ्गठनको पहिलो मूल्याङ्कनकर्ता सञ्चारकर्मीहरू नै हुन् । तर, आ–आफ्नै निहित स्वार्थमा रुमल्लिन थाल्दाको अवस्थामा नै तिनको पेसाजन्य इमानदारीमाथि प्रश्न उठ्ने हो ।

नटुक्रिएका, नचर्किएका, नचोइटिएका कुनै पार्टी नभएझैँ सञ्चारकर्मीहरू पनि विभिन्न आस्था, विचार, वाद, समुदाय र जातिगत रूपमा समेत अलग अस्तित्वको वकालत गरिरहेका छन्, तद्नुरूप अस्तित्वमा पनि आकृत छन् । त्यसभित्र पनि गुट–उपगुट भएको पाइन्छ । गुटले जुट होइन, फुट ल्याउँछ र झुटलाई पनि छुट दिन्छ । योग्य र सक्षम भए पनि स्वतन्त्र पेसाजीवीलाई हम्मेसी कसैले कुनै अवसर दिँदैन । कुनै न कुनै पार्टीमा छिरेर ओत नलागे अवसरबाट वञ्चित गर्ने जबर्जस्ती हामीकहाँ राजनीतिले नै सिर्जना गरेको छ ।

अतएवः पेसाजन्य अनुशासन, आचरण, मर्यादा, इमान र स्वाभिमानलाई कमजोर बनाउने त्यस्ता क्रियाकलापले नै आमसञ्चारको क्षेत्रमा कर्मरत पेसाजीवीको पहिचान र शाखलाई निरन्तर क्षयीकरण गरिरहेको छ ।

आमजनमानसमा पुगेको सन्देश पनि लगभग त्यही नै हो । यसतर्फ सम्बद्ध सबैले गम्भीरता बर्तिनु समयको माग बनेको ठानिनु आज सर्वाधिक जरुरी भएको छ ।