कोभिड–१९ को त्रासले लगानी सम्मेलन स्थगित

कोभिड–१९ को त्रासले लगानी सम्मेलन स्थगित


■ एस. क्षेत्री, बुटवल

चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट नेपालसमेत उच्च जोखिममा परेपछि कारोनाको त्रासमा प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्न लागेको लगानी सम्मेलन स्थगित गरिएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रपरिषद्को बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिए ।

लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरु समेत सहभागिता रहने र हाल छिमेकी मुलुक चीनलगायतका देशमा कोरोना भाइरसको संक्रमण फैलँदै गरेका कारण सम्मेलन स्थगित गर्नुपरेको चौधरीले बताए । बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रदेशका १२ वटै जिल्लामा हुने खालका मेला महोत्सव नगर्न नगराउन समेत निर्देशन दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयसँगै बुटवलमा यही फागुन २१ गतेदेखि हुन लागेको लघु, घरेलु तथा साना उद्योगी सम्मेलन प्रभावित हुने भएको छ ।

त्यसैगरी, प्रदेश सडक निर्माण, मर्मत सम्भार तथा विस्तारसम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिनुका साथै बैठकले प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा बन्ने विधेयकको अवधधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

बैठकले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ भने साझेदारी नियमावली २०७६ स्वीकृत गरेको छ ।

वीर अस्पतालबाट प्रदेश सरकार मातहत सरुवा भएका ११औँ तहका डाक्टर मनिलाल श्रेष्ठ नेवारलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा काजमा खटाउने निर्णयसमेत बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।