जापानको नारितामा निगमको व्यावसायिक उडान

जापानको नारितामा निगमको व्यावसायिक उडान


नेपाल वायुसेवा निगमले आज (१९ फागुन) देखि जापानको नारितामा व्यावसायिक उडान शुरु गर्ने भएको छ । निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो, तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर पहिलो पटक काठमाडौं–नारिता उडान गर्न लागेको हो ।

नेपाली नागरिक र पर्यटकलाई ओसाका विमानस्थल टाढा पर्ने भएकोले टोकियोनजिकैको नारिता विमानस्थलमा पहिलो व्यावसायिक उडान शुरु गर्न लागिएको उल्लेख गर्दै नेपाली धेरै बस्ने भएकाले सहज हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार जापानमा रहेका नेपालीका लागि आउजाउ गर्न नारिता उडानले सहज हुने देखिएको छ । नारिता उडान शुरु हुनुअगावै टिकट अग्रिम बुकिङ भइरहेको बताउँदै प्रवक्ता खड्काले भनिन्– ‘काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले अग्रिम बुकिङ गरिसकेका छन् भने उताबाट आउने २६८ जनाले टिकट लिएका छन् ।’

काठमाडौँ–नारिता उडानका लागि निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । काठमाडौँबाट राति १ः२५ बजे उडान गरेको जहाज स्थानीय समयअनुसार ११ः०० बजे नारिता अवतरण गर्नेछ भने नारिताको समयअनुसार दिउँसो १ बजे उडान गरेको जहाज नेपाली समयअनुसार १८ः२५ बजे अवतरण हुनेछ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका दुई वाइड बडी ए–३३० जहाजबाट उडान हुनेछ ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम ७३ हजार कायम गरिएको छ । शुरुआतमा ‘प्रमोशनल फेयर’अन्तर्गत यो भाडादर सार्वजनिक गरे पनि भाडादर परिर्वतन हुन सक्ने बताइएको छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ ।