आँशु नबगाउने कोही भएनन् ‘आमा’ हेरेपछि

आँशु नबगाउने कोही भएनन् ‘आमा’ हेरेपछि


– राजन घिमिरे, सिड्नी

‘आमा’ नाम राखेर नेपालमा आजसम्म तीनवटा चलचित्र निर्माण भए । पहिलो नेपाली चलचित्रको नाम नै ‘आमा’ हो भने दोस्रोपटक आजभन्दा करिव १५ वर्षअगाडि उद्धव पौडेलले यही नाममा चलचित्र बनाए । यही क्रममा यतिबेला दीपेन्द्र के. खनालको निर्देशनमा पनि ‘आमा’ चलचित्र निर्माण भई प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्र क्षेत्रमा समयअनुसार आ–आफ्नै विशेषता बोकेर आएका तीनवटै ‘आमा’को आ–आफ्नै महत्व रहेको छ । अहिले बनेको चलचित्र ‘आमा’ले वर्तमान नेपाली सामाजिक परिस्थितिको एक अहम् पक्षलाई ज्वलन्त ढङ्गले उजागर गर्दै सबै तह र तप्काका दर्शकको हृदयमा सोझै प्रवेश गर्ने अनि गहिरोसँग प्रभाव पार्ने कथा बोकेको छ ।

आमा र सन्तानबीचको अत्यन्त गहन सम्बन्धलाई आजको नयाँ पुस्ताले किन आत्मसात गर्न सकेको छैन ? यो अलभ्य सम्बन्धलाई किन सामान्य ठान्न थालिएको या युवा पुस्तामा आमाको भूमिका किन गौण जस्तो हुन गैरहेको छ ? अर्थात्, आजका सन्तानले आमाको अर्थ र उचाई किन बुझ्न सकिरहेका छैनन् ? यस्ता संवेदनशील सवाललाई निकै अर्थपूर्ण र यथार्थपरक ढङ्गले प्रस्तुत गर्न निर्देशक दीपेन्द्र के. खनाल अत्यन्त सफल भएका छन् ।

निर्देशक खनाल सिनेमाको जुन विषयमा हात हाल्छन्, त्यसमा निकै गहिरिएर अगाडि बढ्छन् भन्ने त थाहा भएकै कुरा हो । विषयको गुदीसम्म पुगेर उनले यसअघि निर्देशन गरेको चलचित्र पशुपतिप्रसादको चर्चा र वाहवाही अझै ओझेल परेको छैन । आफ्नो यही अलग पहिचान र सिनेक्षेत्रको उपस्थितिलाई चलचित्र ‘आमा’मा पनि दोहोर्‍याएका छन् उनले ।

स्वदेशमा राम्रै तारिफ पाएको यो चलचित्रले प्रवासमा रहेका नेपाली दर्शकमाझ पनि शानदार उपस्थिति दर्शाइरहेको छ । यसक्रममा अष्ट्रेलियाको सिड्नी आइपुगेको ‘आमा’ हेरेर हलबाहिर निस्कँदा दर्शकहरू निकै भावुक र सोचमग्न भावका साथ निस्कन्छन् ।

‘साँच्चै मन छोयो ! हामी परिवार छोडेर प्रवासमा रहनेहरूलाई त यो चलचित्र बुटी नै भएर आयो’– यो चलचित्रलाई सिड्नीमा प्रस्तुत गरेको बाबा ऐजुकेसन कन्सल्टेन्सीका रविन्द्रकुमार शर्माको भनाई थियो । उनले अगाडि थपे– ‘परिवार पीडामा परेको बेला परदेशबाट देश फर्कन नपाउँदा र उमेरले डाँडा काट्न लागेका आमा–बाबालाई साथ दिन नसक्दाको ब्यथा वा मर्मलाई चलचित्रले निकै गहिरो रूपमा देखाएको रहेछ ।’

सिड्नीमा पनि यो चलचित्र सबै वर्गका दर्शकहरुको प्रिय बनिरहेको छ । नेपालबाट सिड्नी घुम्न वा आफ्ना सन्तानलाई भेट्न आएका बुबा–आमाहरू सिड्नीमै रहेका सन्तानहरूसँग यो चलचित्र हेर्न आएका दृश्य साँच्चै भावुक तुल्याउने खालको थियो । ‘नेपालमा रहँदा कहाँ यसरी सिनेमा हेर्न पाइयो र ? सन्तानहरू विदेसमा हामी बुढाबुढी नेपालमा । आज वर्षौंपछि विदेशिएका सन्तानसँग नेपाली सिनेमा हेर्न पाइएको छ’, झापाबाट सन्तान भेट्न सिड्नी आएका प्रेम दंगाल र राधिका दंगालको भनाई थियो– ‘फिल्म हेर्दा छोरो पनि रोयो हामी पनि रोयौँ । हाम्रै कथा र ब्यथा छ यस फिल्ममा ।’

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय बाबा ऐजुकेसन सिड्नीमा नेपाली कला, सांस्कृतिका साथै चलचित्र प्रदर्शन र सामाजिक कार्यमा सक्रिय रहँदै आइरहेको संस्था हो । यसैक्रममा चलचित्र आमाको बारेमा सकारात्मक प्रतिक्रिया आएपछि यो चलचित्रलाई आफ्नो संस्थाले प्रस्तुत गरेको शर्माको भनाई छ ।

चलचित्रमा मिथिला शर्माको अभिनय उच्चकोटीको छ । सिनेमालाई उनले जति बोक्न सकेकी छिन्, अरू पात्रले सायद सक्दैनथ्यो । यो भूमिकामा उनलाई छनौट गर्नु नै निर्देशकको पहिलो सफलता हो । पात्र चयनमा नचुकेका निर्देशक खनालले छोरीको भूमिकामा उतारेका सुरक्षा पन्त र सुत्केरी युवतीको भूमिकामा प्रस्तुत भएकी सरिता गिरीको सिने–करिअरको उचाई ‘आमा’मार्फत् धेरै माथि पुर्‍याइदिएका छन् । यी दुईको सशक्त अभिनयले कसको मन नछोला र नरूवाउला ? आफ्नो निर्देशकीय क्षमताका लागि पशुपति प्रसादबाट उचाई छोएका निर्देशक खनाललाई अब यो चलचित्रले वर्षौंसम्म ‘अब्बल निर्देशक’को विशेषण दिलाउनेमा दुइमत नरहला ।