सावधान ! भ्रमण वर्षको नाममा कोरोना भाइरसको स्वागत नगरौँ !

सावधान ! भ्रमण वर्षको नाममा कोरोना भाइरसको स्वागत नगरौँ !


■ आरपी पाठक

नेपाल सयौँ वर्षदेखि विकास र उन्नतिशील थलो बन्न सकेन । हामी नेपाली नागरिकले कहिल्यै सरकारसँग केही पनि अपेक्षा गरेनौँ र पाएनौँ पनि । जनताको तर्फबाट कहिँ–कतै हात पनि थापेनौँ । नेपालीले आफू आधा पेट खाएर आफू भोकै सुतेर आगन्तुक र पाहुनालाई सक्दो भरथेग गऱ्यौँ चाहे ती विदेशी हुन् या स्वदेशी ।

यसरी, नेपालीहरूले दिई मात्र रहे चाहे देशलाई होस् या नेताहरूलाई वा पार्टी संगठनलाई । जनताको हात हमेसा माथि नै रह्यो । रैती सधैं ज्यामी मौरीझैँ खटेर काम गर्छन् । बाहिरी तत्व अरिङ्गाल र बच्छ्यौँको चपेटामा पनि यिनै पर्छन् ।

उल्लेखित अरिङ्गाल शब्द मकैको खेती पुस्तकको रातो र कालो टाउके परजीवी कमिलाको सन्दर्भ जस्तो मानकका लागि प्रयोग भएको नठानियोस् । अरिङ्गाल र बच्छ्यौँ मौरीका शत्रु हुन् । नेपालमा राजनीति गर्ने हुन् वा सिपाहीका गल्ला, सुन पखाल्ने हुन् वा तन्ना गम्छा बेच्नेदेखि राडी–काम्लो हँसिया नाम्लो खुकुरीदेखि हिङ कान कोर्ने जिम्बु शिलाजित यार्सागुम्बा आदि सबैजसो घुमन्ते व्यापारीका सजिला खरिदार । हामी नेपाली धामी–झाँक्रीदेखि डाक्टर आम्ची कविराज वैद्य नक्कली नै भए पनि सबैका कुरा तत्कालै पत्याइहाल्ने र फुर्सदमा पछुताउने मौलिक विशेषता बोकेका प्राणी हौँ ।

हाम्रा आमा–चेलीहरु गहना धुने–बनाउने सबैलाई गहना फुकालेर दिन्छन् । धोएर टलक्क बनाइदिन्छ अनि विस्तारमा गहना निलो–कालो लेऊ–खई लागेर आउन थालेपछि होस आउँछ, अनि ब्युँझदा घुमन्तेले डाँडो काटिसकेको हुन्छ । त्यसपछि देवीदेवता भाक्यो सराप्यो । उस जन्मको बाँकी रहेछ नि भन्यो चित्तशान्ति गर्याे बस्यो ! हाम्रो विकसित संस्कार यही यस्तै हुँदै आएको छ ।

राजालाई दियौँ– उनीहरुको पुस्तैनी हैसियत बन्यो । राणालाई दियौँ– उनीहरु पनि बने, फेरि राजाको पालो आयो सोही हालत । फेरि के–के न देलान् भनी ‘हवल्दार’को हावादारी गफमा बहकियौँ– उही जहानियाँ बनेर शासन गर्छ । प्रजातन्त्र र लोकतन्त्र भन्यौँ, त्यसले पनि लछारपाटो लाएन । अब हामी गणतान्त्रिक अभ्यासमा लागेका छौं । यहाँ देखिएको सत्ताको छिनाझप्टीले त झन्… ?! जनता र देशको बारेमा सोच्ने त तिनलाई समय नै कहाँ रहेछ र ? को मन्त्री, प्रधानमन्त्री र राष्ट्रियपति बन्ने भन्दै खुट्टा तानातान गरेको समाचार रोजाना आइरहन्छ ।

उता विश्व नै सरुवा महामारी रोगले आक्रान्त भैसकेको छ । साता दिनमा हजार शैयाको नयाँ अस्पताल निर्माण गर्न सक्ने बलबुता भएको देशलाई खरानीतुल्य बनाइसक्यो । यता सय दुई सय वर्षमा पनि अर्काे वीर अस्पताल बनाउन नसक्ने, राणाले कृपा गरेर बनाइदिएको अस्पतालमा दलाल भर्ना गरेर उसैको निगाहमा दुईचार पैसामा बिक्दै जनताको अस्पतालको वेहाल बनाएर आफु राज्यकोषबाट उपचार खर्च लिँदै सपरिवार आफन्त समेतको विदेश सयर गर्नेहरु संसारको रोगी र असाध्य रोगले ग्रस्त भएकाहरुलाई आइसोलेशन सेक्टर बनाउने सम्भावनासहितको नेपाल भ्रमण वर्ष मनाउँदै छन् ।

हिजो चीनमा बेहाल भएका एक सय असी जनालाई अलग्गै राखेर उपचार गर्न समेत नेपाली सेना गुहार्दै बल्लतल्ल संसारभरी बस्ने नेपालीको दबाबमा र विश्वसामु जवाफ दिन समेत नसक्ने अवस्थामा ल्याइएका नेपालीलाई उपचार दिन हम्मेहम्मे भएको सरकारले यो नेपाल भ्रमण वर्ष भन्दै विश्वका महारोगीहरुको सेल्टर नबनाउला भन्न सकिन्न ।

जानेर होस् नजानेर यिनीहरु नजिकको भागमा आँखा गाड्ने र चोख्या लगाउन मात्र सफल छन् । त्यसैले त संसार यत्रो महारोगको संक्रमण हुँदासमेत केवल सत्ताकै वरिपरि घुमिरहेका छन् । उता भ्रमण वर्षको नाममा संसारका महारोगीहरु झिनो पैसामा रोग साट्न तैयार भैरहेका पनि हुन सक्छन् ।

त्यसैले सम्भावित आक्रमण हुनुअगावै सचेत भएर सरकारले यो वेमौसमको नेपाल भ्रमण वर्ष खारेज गरेर समयमा नै नाका शिल गर्न सकेन भने हामी नेपाली वर्डफ्लुको हल्लामा जसरी खोरका ब्रोइलर कुखुरा मारिन्छन् उसैगरि कोरोना भाइरसको महामारीबाट मारिनुपर्ने अवस्था नआउला भन्न सकिन्न ! जय होस् !!