वैदेशिक रोजगारीबाट घर फर्केको दुई सातामै युवकको हत्या

वैदेशिक रोजगारीबाट घर फर्केको दुई सातामै युवकको हत्या


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको कटहरिया नगरपालिका–२ जमुनियामा एक २२ वर्षीय युवकले धारीलो हतियार प्रयोग गरी छिमेकी युवाको हत्या गरेका छन् । मुुस्ताक आलम नामका युवकले छिमेकी २५ वर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् ।

छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य विषयलाई ठूलो बनाएर छिमेकीको हत्या गरेको खुलासा भएको छ ।

घटना विवरणअनुसार दुई दिनअघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरी गर्नेमा हत्या–अभियुक्त आलमको नाम आएको थियो । आफूमाथि मेसिन चोरीको आरोप लगाएको भन्दै आलम रिसले चुर भएका थिए ।

शुक्रबार राती ८ बजे हातमा ठूलो आकारको छुरा बोकेर आलम अब्दुल खैरलाई खोज्न निस्किएका बताइन्छ । सो क्रममा साबिक हथियाही गाविसका पूर्वअध्यक्ष सेराजुल देवानको घर अगाडी दुबैजनाको भेट भएको थियो । मोटर चोरीमा नाम मुछेको विषयमा दुवैबीच भनाभन हुँदै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटपिटपछि आक्रोशित मुस्ताख आलमले एक्कासी छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा खैर सख्त घाइते हुन पुगे । घाइते खैरलाई स्थानीयवासी र प्रहरीको गस्ती टोलीले उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र कटहरियातर्फ उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका गरूडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

छुरा प्रहारलगत्तै मुस्ताख आलम जमुनियाबाट फरार भएका थिए । तर, तत्काल उनको खोजतलासमा सक्रियता दशौएको प्रहरी टोलीले कटहरिया–९ डुमरियास्थित तरहारी नदीमुनि लुकेर बसेको अवस्थामा आलमलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी महतोको सुझबुझका कारण घटनाको दुई घण्टामै अभियुक्त पक्राउ परेको बुझिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ । मृतक अब्दुल खैर वैदेशिक रोजगारीका लागि साउदीअरबमा थिए, उनी दुई साताअघि मात्र घर आएका थिए ।