अवैध हुण्डी कारोबारमा संलग्न दुई भारतीय प्रहरी नियन्त्रणमा

अवैध हुण्डी कारोबारमा संलग्न दुई भारतीय प्रहरी नियन्त्रणमा


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको गौर भन्सार कार्यालयनजिकबाट सशस्त्र प्रहरीको टोलीले नेपाली रुपैयाँ १० लाखसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । एपीएफ टोलीले उक्त रकमसहित भारत विहार राज्यको सीतामढ़ी जिल्लास्थित बैरगनिय १४ निवासी २६ वर्षीय सूरज जायसवाल र २० वर्षीय सनी पटेललार्इ पक्राउ गरेको हो ।

शरीरमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजीत नेतृत्वको टोलीले अभियुक्तहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको रकमको विषयमा आवश्यक अनुसन्धान भइरहेको सप्रनि करनजीतले बताएका छन् । दुवै जनाको साथबाट तीनथान मोबाइल बरामद गरिएको उनले जानकारी दिए ।

यसअघि राजदेवी नगरपालिका ८ स्थित सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपुर बेलविच्छवाका सशस्त्र प्रहरी निरीक्षक अजय थापा नेतृत्वको टोलीले १९ लाख १ हजार नेपाली रुपैयाँसहित अभियुक्त पक्राउ गरेको थियो । एक हप्ताभित्रमा सीमावर्ती क्षेत्रबाट २९ लाख नगदसहित अवैध धन्दामा संलग्न मानिसहरु पक्राउ पर्नुले हुण्डी कारोवार भइरहेको पुस्टि भएको छ । खुल्ला सिमाना भएको कारण भारतीय नागरिकले नेपाली नागरिकको सहयोगमा रकमको कारोबार गर्दै आएको यसबाट थप प्रष्ट भएको छ ।