पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

१८ गते आइतबार देशभरका क्याम्पसअगाडि प्रदर्शन गरिने

नेपाल विद्यार्थी सङ्घले इन्धनमा कर लगाइँदा अप्रत्यक्ष रूपमा मूल्यवृद्धि हुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । करले इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य सामानको बजार भाउ बढ्ने जिकिर गर्दै सङ्घले कर फिर्ता गर्न आग्रह गरेको हो ।



पूर्वाधार करका रूपमा यसअघि उठाइँदै आइएको रकम सदुपयोग नभएको भन्दै नेविसङ्घले फेरि कर बढाइनु गम्भीर भएको जनाएको छ । नेविसङ्घले आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन सरकारसँग माग गरेको छ ।

यस्तै बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न पनि आग्रह गरिएको छ । स्ववियु निर्वाचनको सुनिश्चितताका लागि संघले आगामी आइतबार (१८ फागुन) बिहान ९ बजे देशभरका क्याम्पसअघिल्तिर प्रदर्शन तथा कोणसभा गरिने उक्त विज्ञप्तिमा उल्लेख छ ।

ज्ञातव्य छ, यही फागुन १४ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका भए पनि त्रिभुवन विश्वविद्यालयले अन्तिम अवस्थामा विशेष कारण जनाउँदै निर्वाचन स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया