सरकारबाट जनता निराश बने : नेका महामन्त्री खड्का

सरकारबाट जनता निराश बने : नेका महामन्त्री खड्का


नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारलाई जनताले दुई तिहाई बहुमत दिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीको प्रथम दैलेख जिल्ला सम्मेलनको शुक्रबार (१६ फागुन) उद्घाटन कार्यक्रममा उहाँले सरकारले प्रेसमाथि अङ्कुश लगाउने, मानव अधिकारमाथि हस्तक्षेप गर्नेजस्ता लोकतन्त्र विपरीतको चरित्र देखाउन थालेको उल्लेख गर्नुभयो ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै नेता खड्काले ललिता निवास जग्गाकाण्डमा प्रतिशोधका आधारमा कांग्रेसका नेता विजयकुमार गच्छदारलाई फसाउन खोजिएको जिकिर गर्नुभयो ।

कांग्रेसका दैलेख जिल्ला सभापति कृष्णकुमार विसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काले वडा तहमा पार्टीका विचार र सिद्धान्तलाई लैजाने बताउनुभयो भने सम्मेलनमा पार्टीका वडादेखि जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।