मणिको ‘मृत्युको अघिल्तिर’ सार्वजनिक

मणिको ‘मृत्युको अघिल्तिर’ सार्वजनिक


कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ काठमाडौंमा विमोचन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, कवि श्यामल, सुलोचना मानन्धर र विप्लव प्रतीकले शुक्रबार (१६ फागुन) प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रबीच ‘मृत्युको अघिल्तिर’ सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचन गर्दै कवि श्यामलले मृत्युको अघिल्तिर सामाजिक धरातलमा उभिएर लेखिएका राजनीतिक चेत र जीवन दर्शनका कविताहरु रहेको बताए । ‘मणिले थोरै शब्दमा सजिलोसँग जीवनको गहिराईलाई पक्रिएका छन्’– श्यामलले भने । कवि सुलोचना मानन्धरले मणिका कविताले मानवीय सम्बन्ध र मनोदशालाई उजागर गरेको बताइन् । कवि तथा गीतकार विप्लव प्रतीकले मृत्युको अघिल्तिर पछिल्लो समयको बेजोड कविता भएको बताए । ‘मणिका कविताले मानिसको अन्तरमनमा निकै लामो समयसम्म झन्कार दिइरहन्छ’, उनको भनाई थियो ।

कार्यक्रममा कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, पत्रकार बबिता बस्नेत, कवि रुपेश श्रेष्ठ र कवि ठाकुर बेल्वासेले मृत्युको अघिल्तिरका कविता वाचन गरेका थिए ।

मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा–कविता लेखिरहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरि फरक–फरक विषयका ३२ कविता संकलित छन् ।

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको यसअघि कथा र कविताका गरी पाँच कृति प्रकाशित छन् । वि.सं. २०६१ सालमा प्रकाशित ुमलामी साँझु कविता संग्रहसंगै नेपाली कवितामा जवरजस्त उपस्थिति देखाएका उनका ‘परास्त प्रेम’ र ‘निर्वस्त्र मन’ चर्चित कथा संग्रह हुन् । भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।