राष्ट्रिय गीतको हत्या के देश हत्या होइन ?

■ सञ्जय सोमवंशी



भौतिक आवश्यकता पूर्ति गर्ने वस्तुको विकल्प खोज्नमा आधुनिक विज्ञान केही हदसम्म सफल भए पनि भावनात्मक रूपले स्थान ओगटिसकेका आत्मकेन्द्रित वस्तु र स्थानको विकल्प बनाउन सक्दैन । आस्था भनेको चाहनाको स्थिर अवस्था र प्रेमको सांस्कृतिक रूप नै भएकोले जुनसुकै व्यक्ति, जाति र देशको पनि आस्था र ममता निर्विकल्प हुन्छ ।

उदाहरणको अर्थमा भनौँ भने कसैले सट्टामा सुनका चुरा नै दिन्छ भने पनि आफ्नी पुजनीय आमाको चिनो (अभिज्ञान) को रूपमा राखिएका काँचका चुराहरू साट्न सकिँदैन ।

बजारमा धेरै दाम पर्ने पार्कर कलमले स्व. पिताका चिनोस्वरूप राखिएका निगालोका कलमको स्थान भर्न सक्दैन, किनकि आत्मीय मूल्यको अगाडि भौतिक मूल्यको स्थान गौण हुन जान्छ । सट्टामा बढी उपयोगी मात्र र नापनक्सा पाए पनि क्षतिपूर्ति पाएजस्तो नलाग्ने प्रिय वस्तुमध्ये मातृभूमि पनि एउटा प्रमुख हो । अन्यत्रको ठूलो भूखण्डले पनि जेरुसेलमको स्थान लिन नसक्ने देखेर नै इजरायलका यहुदीहरू लामो समयसम्म युद्ध लडेर पनि अझै थाकेका छैनन् । प्यालेस्टाइनीहरू पनि आफ्नो पुख्र्यौली सम्बन्ध जोडिएका भूमिको लागि बलिदान चढाउन अझै तयार छन् ।

मातृभूमि भनेको जीविकाको साधन र स्रोत मात्रै भएको भए उनीहरू बन्दुकको सट्टा कोदाली र बन्चरो बोकेर कतैको जङ्गललाई आवादी बनाउन सक्ने थिए होलान् । स्वर्ण मन्दिरमा आफ्नै देशको सेनाले टेक्दा पनि सिखबहादुरहरूलाई सह्य भएन, दुई देशका जनताको पुख्र्यौली आत्मीय सम्बन्ध गाँसिएकै कारणबाट आज कस्मिर प्रदेश युद्धभूमि बन्न गएको छ । दलाई लामाले पनि स्वतन्त्र तिब्बतको सट्टामा पाउन सकिने अर्को वैकल्पिक प्राप्तिमा सन्तोष गर्न सकिरहेका छैनन् ।

भारतले लामो प्रयत्नपछि मात्र आफ्नो भूमि गोआलाई पोर्चुगालीहरूको कब्जाबाट फिर्ता ल्याउन सफल भएको थियो । गोआ फिर्ता गराउनमा नेपालले पनि सहयोग र समर्थन गरेको थियो । पच्चीस वर्षको प्रवासकालबाट सोभियत रुस विखण्डन भएपश्चात् स्वदेश फर्केका प्रख्यात रुसी उपन्यासकार अलेक्सेन्द्र सोल्जेनित्सिनले भुइँमा खुट्टा राख्नुभन्दा पहिले आफ्नो देशको माटोलाई प्रणाम गरे । कायिक र मानसिक दुवै रूपले क्षतविक्षत भएको रुसलाई देखेर देशको अङ्गभङ्ग भएको पीडालाई आफ्नै अङ्गको पीडामा समाहित गरेर दुई थोपा आँसुले सहानुभूति पोखेका थिए रे ।

मानिसको देशप्रेम कोमल मात्र हुँदैन, मौकामा अजेय शक्तिवान् पनि हुन्छ, बर्लिनको पर्खाल जर्मनहरूका जातीय सद्भाव र देशप्रेमको व्यवधान बनिरहन सकेन ।

जनचाहनाविरुद्ध जबर्जस्तीसँग कसैले कसैको जन्मभूमिलाई विखण्डित गरेर आफ्नो कब्जामा पारे पनि त्यस भूमिसँग गाँसिएको जनताको भावनात्मक सम्बन्ध मेटिँदैन, शासकको शक्ति र साधन हार्दछ, तर जनताको प्रेम कहिलै हार्दैन, इतिहास साक्षी रहेसम्म त्यस भूमिलाई जनताका मुटुबाट अलग्याउन कुनै शक्तिले सक्दैन, कुनै देशको शासक वा सेना तत्कालको लागि हार स्वीकार गरेर सम्झौता गर्न सक्दछ, तर आफ्नो भूमिसँगको भावनात्मक सम्बन्ध नमेटिएसम्म जनताले हार स्वीकार गरेको हुँदोरहेछन् भन्ने उदाहरणबाट विभिन्न देशका देशभक्त जनताले देखाइसकेका छन् ।

सैनिक शक्तिको धाकमा भारतले नेपालको भूमि पचाइराख्नु र अझ मिच्न खोज्नुभन्दा पहिले एकपटक रुसतर्फ हेर्नुपर्दछ र आफ्ना प्रादेशिक विद्रोहका ज्वालामुखीतर्फ पनि हेर्नुपर्दछ । प्रकृतिको नियमानुसार अत्युपयोगी र अतिहानिकारक दुवै वस्तुको विनाश बढी भएझै राजनीतिमा पनि राष्ट्रवादी शक्तिले बाह्य शत्रुको सिकार हुनुपरेको र जनभावनासँग खेलवाड गर्नेहरूले स्वदेशी जनाकोसको सिकार हुनुपरेको कुरा इत्जाक रविन, गान्धी, लिङ्कन, केनेडी सुकार्नो, भुट्टो, जियाउल हक मुजीवरहमान, राजीव गान्धी, मदन भण्डारीको हत्याले पुष्टि गरिसकेको छ । नेपाली नेताहरूले आज सीमा हेरफेर गर्ने निहुँमा जनतासँग भावनात्मक सम्बन्ध गाँसिएको भूमिबाट अलग्याउने कुरालाई गौण महत्वको ठानेका छन् । मेची–महाकाली हाम्रो टिष्टा–काँगडा गुमाएपछिका राष्ट्रिय गीतको अंश हो, के राष्ट्रिय गीतको हत्या हुनु देशको हत्या होइन ?

(घटना र विचार साप्ताहिक, २०५३ भदौ १२ बुधबार)

प्रतिक्रिया