त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न गेसोको माग

त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न गेसोको माग


गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गरेको छ । नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय सन्धि पुनरावलोकनका लागि पठाएको प्रस्तावको स्वागत गर्दै बेलायत र नेपालबीच द्विपक्षीय सन्धिमा गेसोले जोड दिएको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भूतपूर्व गोर्खा सैनिकहरुमाथि भइरहेको अन्यायको क्षतिपूर्ति हुने गरी द्विपक्षीय सम्झौताको माग गरे । उनले पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएको उल्लेख गर्दै गोर्खाहरुको समस्या समधानको बाटो यही भएको जिकिर गरे ।

अध्यक्ष राईले भने– ‘गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका बेला बेलायतका समकक्षी टरिजा मेसँग पनि उक्त सन्धि पुनरावलोकनको प्रस्ताव राख्नुभएको थियो । पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएको हाम्रो जानकारीमा आएको छ । गेसो सरकारको यो कदमको दृढ समर्थन गर्दछ । यसलाई हामीले गेसो आन्दोलनाको एउटा उपलब्धिका रुपमा लिएका छौँ ।’

बेलायतसँगै गोर्खा भर्तीको विषयमा भारत, सिङ्गापुर र ब्रुनाईसँग पनि त्रिपक्षीय सम्झौता जरुरी रहेको सभापति राईको भनाई छ । उनले नेपाल सरकारले पठाएको प्रस्तावको जवाफ बेलायत सरकारले चाँडै दिने विश्वाससमेत व्यक्त गरे ।

द्विपक्षीय सम्झौताबाट नै गोर्खाहरुको समस्या समाधान हुने र नेपालको स्वभिमान पनि उचो रहने तर्क गर्दै सभापति राईले पेन्सनमा गोरा सेनासरह हुनुपर्ने माग गरे । पेन्सनमा अझै पनि २९८ प्रतिशत फरक रहेको उल्लेख गर्दै आफूहरुको माग समान पेन्सन रहेको उनले दोहोऱ्याए ।