राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी : प्रधानसेनापति

राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी : प्रधानसेनापति


प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताउनुभएको छ । बिहीबार (१५ फागुन) नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रा पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेका छौँ र रहनु पर्दछ ।’

राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति र सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताउनुभयो । उहाँले देशमा पहिचान भएका ऐतिहासिक धरोहरहरुको मर्मतसम्भार गर्ने, युद्ध सङ्ग्रालय संस्कृतिको विकास गर्ने तथा नेपाल भ्रमण वर्षलाई समेत टेवा पु¥याउने उद्देश्यले यस वर्ष सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण, काभे्रको पृथ्वीगढी थुम्कामा भ्यू प्वाइन्ट निर्माण तथा पाल्पा दरवारमा शस्त्रअस्त्र कक्ष निर्माण कार्य शुरु भएको जानकारी दिनुभयो । बारामा यसै वर्षबाट युनिफिकेशन मेमोरियल पार्क निर्माण कार्यको थालनी गरिएको पनि उहाँँले उल्लेख गर्नुभयो ।

प्रधानसेनापति थापाले सेवानिवृत्त भएका पूर्व सैनिकहरुको आर्थिक सामाजिक जीवनस्तर अभिवृद्धिका लागि सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधार र सहुलियतलाई बढाउँदै लगिएको र यसलाई पूर्व सैनिकको घरदैलामै पु¥याउने गरी सेवा विस्तार र विविधीकरण गरिएको बताउनुभयो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुक एकल महिला एवं सैनिक परिवारका सदस्यलाई चेक हस्तान्तरण गर्नुभएको थियो । सम्मेलनमा सहभागी बाँके, बर्दिया र हुम्लाका सेवानिवृत्त सैनिक र तिनका परिवारहरुसँग प्रधानसेनापति थापाले सामूहिक र एकल रुपमा भेट गरी उहाँहरुका समस्या अवगत गर्नुभएको थियो ।

सम्मेलनमा बलाध्यक्ष रथी गौरव तण्डुलले सैनिक कल्याणकारी कोषमा हालसम्म जम्मा भएको ५० अर्बबाट विभिन्न कल्याणकारी सेवामा लगानी गरिएको उल्लेख गर्दै भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताउनुभयो । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी (अवकाशप्राप्त) केशवबहादुर भण्डारी र अवकाश प्राप्तबाटतर्फबाट रथी नेपालभूषण चन्दले पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी काम बारेमा प्रकाश पार्नुभएको थियो ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको कृति, वेशभूषा झल्किने गरी मयुर नाच, थारु, लाठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो ।

यसैबीच प्रधानसेनापति थापाले नेपालगन्जस्थित नेपाली सेनाको कौशिलानगर व्यारेकमा नेपाली सैनिक पश्चिम लजिष्टिक वेशको पनि उद्घाटन गर्नुभयो । नेपाली सेनाका लागि आवश्यक बन्दोवस्तीका सम्पूर्ण सामग्रीहरुको उपलब्धता, मर्मतसम्भारलगायतका सेवाहरु प्रदान गर्ने गरी राजधानीबाहिर पहिलोपटक सो वेश स्थापना गरिएको हो ।

सत्तरी रोपनी क्षेत्रफलमा उत्तर पश्चिम पृतना र सुदूरपश्चिम पृतनाअन्र्तगतका युनिटहरुलाई लक्षित गरी क्षेत्रीयस्तरमा सो लजिस्टिक डिपोर्टको स्थापना गरिएको हो ।