गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित


प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक संख्याबारे नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुख सापकोटाले गणपूरक संख्या यकिनका लागि संघीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए । सचिवालयले तनि मिनेट जनाउ घन्टी बजाएर सांसद संख्या यकिन गर्दा कम्तीमा एकचौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद संख्याको एकचौथाइ उपस्थिति हुनुपर्छ । एकचौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ ।