विद्युत चोरीको आरोपमा आधा दर्जन पक्राउ

विद्युत चोरीको आरोपमा आधा दर्जन पक्राउ


राजविराज । विद्युत पोलबाट हुकिङ गरी विद्युत चोरी कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ परेको छ । मंगलबार (१३ फागुन) दिउँसो विद्युत वितरण केन्द्र कार्यालय राजविराज जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले राजविराज नगरपालिकाको विभिन्न वडा कार्यालयबाट विद्युत चोरीमा प्रयोग गरिएको तार र अन्य उपकरणसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा १ बस्ने दिनेश यादव, एकराम यादव र सत्यनारायण साह छन् । यस्तै, राजविराज नगरपालिका २ बस्ने मो. अमिम र राजविराज नगरपालिका ११ बस्ने श्याम कुमार मण्डल र नारायणप्रसाद यादव रहेका छन् ।

पक्राउ परेकाहरुमाथि विद्युत चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसारको कार्यवाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।