दिल्ली भिडन्तमा सातको मृत्यु, सयभन्दा बढी घाइते

दिल्ली भिडन्तमा सातको मृत्यु, सयभन्दा बढी घाइते


भारतको राजधानी दिल्लीमा हिंसा भड्किँदा एकजना सुरक्षाकर्मीसहित सातजनाको मृत्यु भएको छ । नागरिकता कानुन संशोधन (सीएए) को विरोध र समर्थनमा भएको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परी उनीहरूको मृत्यु भएको हो । झडपमा परी अन्य एक सयभन्दा बढी घाइते बनेका छन् । झडपका क्रममा मृत्यु हुनेमा एकजना प्रहरीका हवल्दार पनि रहेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन सोमबारबाट दिल्लीमा हिंसा भड्किएको हो । सोमबारको झडपमा तीनजना प्रदर्शनकारीको मृत्यु भएको हो भने मंगलबार थप तीनजनाको मृत्यु भएको हो ।

मंगलबार बिहानैदेखि दिल्लीको तनावपूर्ण रहेको छ । मंगलबार बिहानै मौजपुर आसपासका क्षेत्रमा ४५ वटा आगजनीका घटना भएको बताइएको छ । आगो निभाउन गएका दमकलमाथि पनि प्रदर्शनकारीले हमला गर्नुका साथै आगोसमेत लगाइदिएका छन् । सो क्रममा तीनजना दमकलका कर्मचारी घाइते भएका छन् ।

दिल्लीमा भइरहेको झडप र प्रदर्शनबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । त्यसैगरी दिल्लीको अवस्था बिग्रँदै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले आपतकालीन बैठक बोलाएका छन् ।