डाइमण्ड प्रिन्सेस पानी जहाजमा कोरोना संक्रमित एकको मृत्यु

डाइमण्ड प्रिन्सेस पानी जहाजमा कोरोना संक्रमित एकको मृत्यु


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको कानागावा प्रिफेक्चरमा मंगलबार (१३ फागुन) कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । यससँगै जापानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

जापानी समाचार संस्था जापान टाइम्सका अनुसार योकोहामा पोर्टमा संक्रमित पाइएकी ८० वर्षीया वृद्ध महिलाको उपचारको क्रममा मंगलबार निधन भएको हो । वृद्धाको मृत्युपछि डाइमण्ड प्रिन्सेस पानी जहाजमा संक्रमित ७ सय ९ व्यक्तिमध्ये ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसबाहेक अन्य एक संक्रमित समेतले ज्यान गुमाएका कारण जापानभर मृतकको संख्या ५ पुगेको हो ।

कोरोना भाइरसको उद्गम स्थल चीनमा पनि एकजना जापानी नागरिकले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । मंगलबार मध्यान्हसम्ममा जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर ८ सय ६८ पुगेको छ ।