नदीजन्य पदार्थको दोहनप्रति महासंघको आपत्ति

नदीजन्य पदार्थको दोहनप्रति महासंघको आपत्ति


■ विशेष प्रतिनिधि, कपिलवस्तु

जिल्लामा केही दिनयता विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियमविपरीत ठेकेदारले मनपरी ढंगले नदीजन्य पदार्थ ढुंगा गिट्टी र बालुवाको दोहन गरिरहेकोप्रति नेपाल पत्रकार महासंघ कपिलवस्तुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाअन्तर्गत स्थानीय खोलानालामा अनियमित रुपले नदीजन्य पदार्थको निकासी भइरहँदा स्थानीय सरकार, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बेखबर बनेको आरोप लगाउँदै नदीजन्य पदार्थको अनियन्त्रित निकासीले हुनसक्ने विपत्तीप्रति सचेत रहन र प्राकृतिक श्रोत साधन र वातावरण संरक्षणमा स्थानीय सरकार गम्भीर हुन महांघले ध्यानाकर्षण गराएको छ ।

महासंघले भनेको छ– स्थानीय सरकारले नदीनालामा लगाएको ठेक्काको शर्त र सम्झौताविपरीत ठेकेदारहरुले तोकेको दररेट भन्दा बढि रकम संकलन गर्नु, चोरी निकासी, खोलानालामा जेसिभि मेसिनको प्रयोग, अनियन्त्रित डम्पिङ्ग र इआईए भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । सम्झौताविपरीत ठेकेदारले गरेका त्यस्ता गैरकानुनी कार्यप्रति जनप्रतिनिधि मुकदर्शक बन्नु जनताको उपहास गर्नु हो ।

‘पछिल्लो समय खोलानालामा पुगी आफूलाई सञ्चारकर्मी भन्दै ठेकेदार तथा तिनका कर्मचारीसँग रकम माग गरेको भन्ने सुन्नमा आएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न बहानामा पत्रकारले रकम माग गरेको भए सम्वन्धित निकायलाई महासंघमा उजुरी गर्न र गलत कार्य गर्न जो कसैलाई पनि छुट नभएको तथ्यमा आधारित भएर रिपोटिङ्ग गर्न समेत आग्रह गर्दछौं । पत्रकारिता पेशाप्रति आँच आउने गरी बदनियत ढंगले ठेकेदार पक्ष तथा पत्रकारबाट हुनसक्ने गतिविधी प्रति सम्पूर्ण वर्ग सचेत र सजग रहन समेत आग्रह गर्दछ । पत्रकार आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै मर्यादित पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ कपिलवस्तु सवैमा अपिल समेत गर्दछ ।’