मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा पदबाट राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा पदबाट राजीनामा


मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गरेका छन् । दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरूले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा गरेको उल्लेख छ, तर राजीनामाबारे विस्तृत केही बताइएको छैन ।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरूले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् । महाथिरले आफ्नो उत्तराधिकारीका रूपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो । राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने, तर महाथिरलाई प्रधानमन्त्रीका रूपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरूसमेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

महाथिरको बर्सातु र अनवरको पार्टीका झन्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुस्किल हुनेछ । महाथिर र अनवर दुवैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनावअघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरेका थिए ।

अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताएका छन् । तर, उनले सत्ता गठबन्धनबारे केही बताउन चाहेनन् । पछिल्लो राजनीतिक संकटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिनेछ ।

अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ । वान अजिजाले ट्विट गर्दै ‘मानिसले योजना बनाउन सक्छन् तर अल्लाहले निर्णय गर्नुहुन्छ’ भनेका छन् ।

विज्ञहरूले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन् । उनीहरूले नयाँ सरकारको गठनले मलाए इस्लामिक पार्टीको वर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि संकट निम्त्याउने चेतावनी दिएका छन् । ‘महाथिरको मुख्य राजनीतिक प्राथमिकता नै अनवरलाई प्रधानमन्त्री बनाउन ढिलाइ गर्नु हो,’ सिंगापुरस्थित अन्तर्राष्ट्रिय अध्ययन इन्स्टिच्युटका वरिष्ठ अनुसन्धाता ओह इ सुनले बताए । ‘यदि नयाँ सरकार गठन भएमा मलेसिया प्रतिगामी अवस्थातर्फ धकेलिनेछ, र यहाँ जातीय एवं धार्मिक अतिवादले अझ गहिरोसँग जरो गाड्ने छ ।’
रासस–एपी