‘जय जगत्’ अभियानका अभियन्तासँग शान्ति समाजको छलफल

‘जय जगत्’ अभियानका अभियन्तासँग शान्ति समाजको छलफल


विभिन्न घोटालाका मूल दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकमा स्वतन्त्रताविरोधी प्रावधान हटाउन मागसहित मानवअधिकार तथा शान्ति समाजले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । वाइडबडी/न्यारोबडी जहाज खरिद र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै समाजले एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

संसदमा प्रस्तुत सूचना प्रविधिलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा स्वतन्त्रताविरोधी प्रावधान रहेको आरोप लगाउँदै समाजले आफ्नो प्रदर्शनमार्फत ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईं, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराललगायत केन्द्रीय सदस्यको सहभागिता थियो ।

यसैबीच जय जगत् भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र समाजका सदस्यबीच छलफल भएको समाजले जनाएको छ । समाज केन्द्रीय कार्यालयमा भएको छलफलमा पदयात्रीले पदयात्राको उद्देश्य र समाजका सदस्यले जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्यअनुरुप सञ्चालित अभियानका अनुभव आदानप्रदान गरेका थिए ।

अहिंसालाई मूल मन्त्र मानी महात्मा गान्धीको विचार प्रवर्द्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत् अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ । पचास जना पदयात्रीमध्ये नेपाल आएका पाँच जना छन् । कार्यक्रममा समाजका तर्फबाट जय जगत् अभियानलाई १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

विगत १४ वर्षदेखि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियानका साथसाथै हिमालय बचाऔँ अभियान समाजले सञ्चालन गर्दै आएको छ । समाजले हिमालय बचाऔँ, नदी जोगाऔँ शीर्षकमा केन्द्रित रही प्रदेश नं. १ मा फागुन तेस्रो साता कार्यक्रम आयोजना गर्ने भएको छ ।