टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी, कमलप्रसाद पक्राउ

टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी, कमलप्रसाद पक्राउ


टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई ठगी अभियोगमा पक्राउ गरिएको हो । उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

टर्की र ग्रिसमा कामदारलाई आकर्षक तलब प्राप्त हुने भन्दै प्रलोभनमा पारेर पोखरेलले पटक–पटक गरेर ३२ जनाबाट ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरेको बुझिएको छ । महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएअनुसार ठगी गरेको रकम लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आइतबार (११ फागुन) नै वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ ।