दुई बस ठोक्किँदा २० यात्रु घाइते

दुई बस ठोक्किँदा २० यात्रु घाइते


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना.७ख २०६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५ख २८५६ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये तीनजनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एकजनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको राससले जनाएको छ । तीव्र गतिमा आएको ना.५ख २८५६ नम्बरको बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ ।