कमेडी च्याम्पियनसँगै केकी अष्ट्रेलिया आउने

कमेडी च्याम्पियनसँगै केकी अष्ट्रेलिया आउने


■ राजन घिमिरे, सिड्नी

पछिल्लो समय टेलिभिजन कमेडियन शो ‘कमेडी च्याम्पियन’ चर्चाको शिखरमा छ । स्वदेशदेखि प्रवाससम्म नेपाली समुदायमा यसको व्यापक चर्चा र वाहवाही भइरहेको छ । एकपछि अर्को साता आफ्नो शाख र उपस्थितिलाई शानदार ढंगले उभ्याइरहेको यस कार्यक्रमको अहिले विदेशमा समेत ह्वात्तै बजार बढेको पाइएको छ ।

यो कार्यक्रमलाई यसरी उचाईमा पुऱ्याउन केकी अधिकारी, रिमा विश्वकर्मा र विशाल भण्डारीलगायतको टिमले गरेको मिहेनत र प्रयासले यतिबेला साँच्चै मूर्तरूप पाएको छ । शुरू–शुरुमा यस्तो कार्यक्रम पनि चल्छ र ? भनेर यसको समर्थन गर्नुभन्दा विरोध गर्नेहरू नै आज कमेडियन च्याम्पियन समूहलाई बधाई दिन थालेका छन् ।

यसैबीच यो शो को विदेशमा माग बढ्न थालेको छ । कमेडियन च्याम्पियनको विश्व यात्रा भने अष्ट्रेलियाबाट शुरू हुने भएको छ। डेस्टिनेशन फाउन्डेसन ऐजुकेसन एण्ड भिसा सर्भिसेसले विश्व यात्रा अधिकार किनेको कमेडियन च्याम्पियनको अष्ट्रेलिया–अधिकारँ सिड्नीको ह्यायप्पी इन्टरटेन्मेन्टले खरिद गरेको हो ।

सिड्नीको लिडकममा रहेको वाइट पार्कमा कमेडियन च्याम्पियनका कलाकारहरूले अप्रिल ११ तारेखका दिन आफ्नो कला प्रस्तुत गर्न लागेको चर्चाले अहिले सिड्नीको बजार गर्माएको छ । बताइएअनुसार कमेडियन च्याम्पिनका उत्कृष्ट पाँचसहित हास्य कलाकार मनोज गुजरेल, उद्घोषिका रिमा विश्वकर्मा, निर्मात्री केकी अधिकारी र निर्देशक विशाल भण्डारी पनि अष्ट्रेलिया आउने जानकारी प्राप्त भएको छ। पछिल्लो समय चलचित्र, म्यूजिक भिडियो र कमेडी च्याम्पियन टेलिभिजन रियालिटी शो मार्फत कलाकारिताको थप विधामा फड्को मारेकी केकी अब टेलिभिजन विधालाई पनि निरन्तरता दिँदै जाने बताउँछिन् ।