भारत-पाकिस्तानको खराब सम्बन्धले अलैँचीको मूल्यमाथि गऱ्यो प्रहार

भारत-पाकिस्तानको खराब सम्बन्धले अलैँचीको मूल्यमाथि गऱ्यो प्रहार


कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितीका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताएका छन् ।

भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किग्रा) अलैँचीको मूल्य घटेर २६ हजार पुगेको छ । केही वर्षअघि एक मनको एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा आत्मानिर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रूपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सिधैँ बङ्गलादेश नै निकासी गर्न सकेको राम्रो मूल्य पाउन सकिने उनले बताए ।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घको तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, दुवइ, चीन र भारत पुगेको जानकारी उनले दिए । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको पनि उनले बताए । पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको खुलासा सुमन श्रेष्ठले गरे ।

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ । चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरीदिँदा अलैँची व्यवसायी निराश हुन परेको गुनासो उपाध्यक्ष श्रेष्ठको रहेको राससले जनाएको छ । सधँै भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ ।

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ । अहिले अलैँची कारोवारी भारतमा कमी आएको पाइन्छ । गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

तथ्याङ्कअनुसार ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । सङ्खुवासभामा २९ हेक्टर जमिन उत्पादनयोग्य जमिन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ ।