इरान संसदीय निर्वाचन : अनुदारवादी समूह अगाडि

इरान संसदीय निर्वाचन : अनुदारवादी समूह अगाडि


इरानमा दुई दिनअघि सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक मतगणनाले त्यहाँको अनुदारवादी समूहले विशाल मतान्तरले विजय हासिल गर्ने सङ्केत दिएको छ ।

निर्वाचनका लागि आकांक्षी रहेका झण्डै आधा उम्मेदवारलाई अयोग्य घोषणा गरेपछि शुक्रबार (२१ फेब्रुअरी) भएको निर्वाचनमा सुधारवादी समूहका अधिकांश नेताहरू बाहिरिएका थिए । सुधारवादी समूहको नेतृत्वमा वर्तमान राष्ट्रपति रहेका छन् भने अनुदारवादी समूहलाई कट्टरपन्थी सर्वोच्च नेता आयोतोल्ला खामेनीको समर्थन रहेको छ ।

उम्मेदवारी दिने सूचीमा रहेका १६ हजार व्यक्तिमध्ये आधा सङ्ख्यालाई निर्वाचन लड्न अयोग्य घोषणा गरेपछि सुधारवादी समूहलाई यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको चर्चा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका थिए । शनिबार मध्य दिनसम्ममा कूल २९० निर्वाचन क्षेत्रमध्ये ७१ स्थानको मत गणना शुरू भइसकेको र अधिकांशमा अनुदारवादी समूह अगाडि देखिएको इरानको समाचार संस्था आइएसएनएले राष्ट्रिय निर्वाचन समितिलाई उद्धृत गर्दै जनाएको छ ।

समितिका प्रवक्ता इस्माइल मौसभीले राज्य सञ्चालित टेलिभिजनसँग भनेका छन्– ‘अनुदारवादी तथा अति अनुदारवादी समूहको गठबन्धनले राजधानी तेहरानका ३० सीटमा सहज परिणाम निकाल्ने देखिएको छ । मतगणना जारी रहेको छ ।’

निर्वाचनमा तीन पटकसम्म राष्ट्रपतिको उम्मेदवार बनी पराजित बनेका तथा पूर्वप्रहरी प्रमुख र रिभोलुसनरी गार्डका सदस्य मोहम्मद बाघर घालिबाफले राम्रो अग्रता लिएका बताइएको छ । उनी सन् २००५ देखि २०१७ सम्म तेहरानको नगरप्रमुखका रूपमा काम गरेका व्यक्ति हुन् ।

सुधारवादी र तथा नरमपन्थी समूहले कूल निर्वाचन क्षेत्रको ३७ स्थानमा मात्र अग्रता लिएको मौसभीले बताएका छन् । यदि निर्वाचन परिणाम यही गतिमा अघि बढेमा राष्ट्रपति हसन रौहानी, जो चार वर्ष पहिले अत्यधिक बहुमत ल्याएर सत्तामा पुगेका थिए, उनको राजनीति लगभग धरापमा पर्ने देखिएको छ ।

तर अनौपचारिक सूचनाका आधारमा शनिबार अपरान्ह् फार्स न्यूज एजेन्सीले दिएको जानकारीमा कूल २९० सीटमध्ये प्रतिस्पर्धामा १८३ स्थानको मतपरिणाम आइसकेको र अनुदारवादी समूहले १३५ सीटमा विजय हासिल गरेको बताइएको छ । सुधारवादी समूहले जम्मा २० स्थान र स्वतन्त्रले २८ स्थानमा विजय निकालेको उल्लेख छ । फार्सले तेहरानमा ९० लाख मतदाता रहेकोमा १९ लाखले मात्र मतदान गरेको ट्वीटमार्फत् सार्वजनिक गरेको छ ।