माडीका अनशनकारीको माग पूरा गर्न कांग्रेसको आग्रह

माडीका अनशनकारीको माग पूरा गर्न कांग्रेसको आग्रह


स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका चितवनको माडी नगरपालिका–४ का अनशनकारीको माग तत्काल पूरा गर्न सरकारलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरी अनशनकारीको माग पूरा गर्न माग गरेका हुन् ।

अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौँ संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् । यस्तै, बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सीमामा पर्ने रीउखोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग उनीहरुको छ ।

अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नती गरि चौविसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोतसाधनमा पूर्ण रुपमा स्थानीय तहको अधिकार हुनुपर्नेजस्ता माग राखेका छन् ।

स्थानीयबासीले पटकपटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्यहरु फागुन ७ आमरण अनशन बसेका थिए । कांग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।