‘नेपालकै ठुलो दौड प्रतियोगिता’ धरानमा सम्पन्न

‘नेपालकै ठुलो दौड प्रतियोगिता’ धरानमा सम्पन्न


■ मनिता चाम्लिङ, धरान

नेपालकै ठुलो दौड प्रतियोगिता मानिएको ‘८औँ प्रभु बैक धरान १० के रन’मा पुरुषतर्फ बाग्लुङका तीर्थ पुन र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएका छन् ।

शनिबार १० फागुन) धरानमा सम्पन्न प्रतियोगितामा पुनले निर्धारत दुरी ३१ मिनेट २५ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन् । भारतीय सेनामा कार्यरत पुनले नेवा च्यारिटी रनमा प्रथम भएको यो पाँचौ पटक हो । त्यस्तै, पुरुषतर्फ लक्ष्मण मल्लले ३१ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने खिमबहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । मल्ल र खत्री दुवै सशस्त्र प्रहरीका खेलाडी हुन् ।

यसैगरी, महिला खुला स्पर्धातर्पmकी विजेता सन्तोषीले ३४ मिनेट २३ सेकेण्डमा दुरी पार गरिन् । महिलातर्फकी बिजेता सन्तोषी यो समेत गरी दोस्रोपटक विजेता भएकी हुन् । उनी चौथो सँस्करणमा पनि प्रथम भएकी थिइन् । यसैगरी राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । महिला र पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

यसैगरी, अण्डर १६ तर्फ पुरुषबाट किरण लिम्बु प्रथम, रसियन राई दोस्रो र रोजन राई तेस्रो बने । महिलातर्फ जुम्लाकी बन्दना बुढा प्रथम भइन् भने कृष्टिना राई दोस्रो र प्रशंसा वन तेस्रो भइन् । यस्तै अण्डर १२ तर्फ पुरुषबाट अनिष लिम्बु प्रथम, सुजन राई दोस्रो र दिवस राई तेस्रो भए भने महिलातर्फ प्राश्ना भण्डारी प्रथम, इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो भइन् । १२ वर्ष मुनिका बालबालिकाहरुलाई ३ किलोमिटर मात्र दौड गराइएको थियो ।

यस्तै, भेट्रान (४० देखि ६० वर्षसम्म) पुरुषतर्फ दिलबहादुर श्रेष्ठ प्रथम, धर्म महर्जन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भएभने महिलातर्फ दार्जिलिङका छिरिङ ल्ह्मु प्रथम, भीममाया राई दोस्रो र गीतादेवी लिम्बु तेस्रो भइन् । दौडमा अण्डर १६, अण्डर १२ र भेट्रानका बिजेताहरु प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेताहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, विशिष्ट अतिथि एवं मिस नेपाल वल्र्ड २०१८ कि श्रृंखला खतिवडा लगायतले पुरस्कार वितरण गरेका थिए ।

‘शिक्षाको निम्ति च्यारेटी दौड’ भन्ने नाराका साथ सम्पन्न भएको यस प्रतियोगिताबाट संकलित रकमले धरानका सामुदायिक विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष रोमु राईले बताए ।

हरेक शनिवार धरान ८ स्थित यलम्बर पार्कबाट दौडको आयोजना गर्दै आइरहेको यस संस्थाले वर्षमा एक पटक राष्ट्रियस्तरमा नै दौडको प्रतियोगिता गर्दै आएको छ । यस ८औँ नेवा च्यारेटी १० के रनमा नेपालभरका अलावा बंगलादेश, युके, हङकङ, मेलेशिया र भारतको कालिम्पोङ, दार्जिलिङ लगायतबाट ४ हजार भन्दा बढी महिला, पुरुष तथा बालबालिकाहरुले भाग लिएका थिए ।