थाई अदालतद्वारा लोकतन्त्रपक्षीय पार्टी विघटनको फैसला

थाई अदालतद्वारा लोकतन्त्रपक्षीय पार्टी विघटनको फैसला


सेनाविरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबार (२१ फेब्रुअरी) को फैसलामा विघटित पार्टीका मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड पार्टीलाई अदालतले विघटन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो । सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए । थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै सो पार्टीले आन्दोलन गरिरहेको छ । उनीहरूले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन् । यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने यो शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ ।

निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरूलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ । अदालतको फैसलालाई फ्युचर फरवार्ड पार्टीका नेताहरूले भने अस्वीकार गरेका छन् । उनीहरूले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन् । पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन् ।

थाइल्याण्डको अदालतमा उनी र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको एएफपीले जनाएको छ । ‘आजको दिन थाइल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,’ थानाथोर्नको भनाई छ । पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणा पनि उनले गरेका छन् ।