नेपाली सेनाद्वारा पहिलो पटक ‘युनिटी जर्नल’ प्रकाशित

नेपाली सेनाद्वारा पहिलो पटक ‘युनिटी जर्नल’ प्रकाशित


‘महाशिवरात्री तथा सेना दिवस(२०७६’को अवसरमा नेपाली सेनाले प्रथम पटक प्रकाशित गरेको ‘Unity Journal’ Volume-I को विमोचन गरिएको छ । बिहीबार (८ फागुन) जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जर्नल विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाद्वारा संवैधानिक जिम्मेवारी वहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयहरुमा आमनागरिक तथा विषय–विज्ञहरुबाट अनुसन्धानात्मक लेख रचनाहरुको संगालो ‘युनिटी जर्नल’ प्रकाशन गर्ने पहल गरेकोमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गरे । उनले राष्ट्रिय एकताका सम्भावित चुनौतिहरु पहिचान गरी समयमै राष्ट्रिय हित र स्वार्थहरुको सुरक्षाका लागि उपयुक्त रणनीति तयार गर्न अनुसन्धान र प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षालाई सम्बर्द्धन र विश्वसनीय बनाउने उद्देश्यका साथ प्रकाशन गरिएको ‘युनिटी जर्नल’ बौद्धिक वर्ग र सेनाभित्रको जनशक्तिको एकिकृत र रचनात्मक प्रयासको रुपमा लिएको धारणा राखे ।

सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकताको महत्व स्थापित गर्न ‘युनिटी जर्नल’ कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उक्त जर्नल रणनैतिक र सामरिक विषयमा चासो राख्‍ने सर्वसाधारणदेखि विद्यार्थी तथा विज्ञ पाठकहरुलाई समेत उपयोगी हुने विश्वास प्रधानसेनापति थापाको थियो । जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख–रचनाहरुले राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेसमेत उनले जिकिर गरे ।

बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ९७ वटा लेख–रचनाहरु मध्ये ३२ वटा समावेश गरी प्रकाशित भएको उक्त जर्नलमा बिहारीकृष्ण श्रेष्ठ, पशुपति नेपाल र गेजा शर्मा वाग्ले क्रमशः प्रथम, द्धितिय र तृतिय भएका छन् । उनीहरूलाई रक्षामन्त्री पोखरेलले क्रमशः रु। दुई लाख, रु।एक लाख र रु।पचास हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै उक्त विमोचन कार्यक्रममा अन्य २९ सर्जकलाई प्रधानसेनापति थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।