कर्मचारी आपूर्ति गर्न नगरप्रमुखले बुझाए जिल्ला प्रमुखलाई ज्ञापनपत्र

कर्मचारी आपूर्ति गर्न नगरप्रमुखले बुझाए जिल्ला प्रमुखलाई ज्ञापनपत्र


■ नारद कोहार, कपिलवस्तु

कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविहीन भएको महिनादिन बित्यो । सरकारले अझैसम्म प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको पदस्थापन गर्न बिलम्व गर्दा नगरपालिकामा काम विशेषले आउने सर्वसाधारणले दैनिक दुःख कष्ट पाउँदै आएका छन् । यसैलाई मध्यनजर गरी कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई समस्या समाधानको लागि ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको पदास्थापन नहुँदा योजना सम्झौतादेखि फरफराक गर्न र रकम भुक्तानी गर्न समस्या भएको नगरप्रमुख शाहले बताए । उनले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज बाहेक आर्थिक कारोबार तथा विकास निर्माणलगायतका काममा समस्या परेको उनको भनाई छ । नगर प्रमुख शाहले छिटो भन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउन सम्बद्ध सरकारी निकायसमक्ष आग्रह गरे।

प्रशासकिय अधिकृत नभएकै कारण नगर कार्यपालिकाको कार्यलय सुनसान बनेको छ । सेवाग्राहीहरु प्रशासानिक कामको लागि टाढा–टाढाबाट धाएर आए पनि प्रमुख प्रसासकिय अधिकृत नहुँदा समस्यामा परेको सेवाग्राहीहरुको गुनासो गरेका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी तिनाउ गाउँपालिका पाल्पामा एक महिनाअघि सरुवा भएर गएपछि प्रशासनिक कामकाज ठप्प भएको हो ।

प्रमुख प्रशासकिय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएका योजनाको सम्झौताको कामसमेत रोकिएको स्थानीयको गुनासो छ । यस आर्थिक वर्षमा नगरका गौरवका योजना साथै नगरका भौतिक पुर्वाधार, सडक, लगायतका योजनाको सम्झौता गर्ने समयको चटारो भएको समयमा कार्यालय प्रमुखको अभावमा काम कारवाही अघि बढ्न नसकेको योजना शाखा प्रमुख प्रदीप चौधरीले बताए ।

चालु आर्थिक वर्षको योजना सम्झौता गर्ने चटारो भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतकै कारण समस्या भएको सर्वसाधरणको गुनासो छ । एक जना कर्मचारी नहुँदा स्थानीय सरकारको दैनिक कामकाजमा नै समस्या खडा भई हजारौँ सेवाग्राही मारमा परेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यसलाई तत्काल सम्बन्धित निकायमा पठाउने बताए । ज्ञापनपत्र बुझाउन नगरप्रमुखसहित नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।