‘सुविधा खोज्ने, तर व्यवसायीको मर्का नबुझ्ने ?’

‘सुविधा खोज्ने, तर व्यवसायीको मर्का नबुझ्ने ?’


राजधानीसँग जोडिएको जिल्ला भए पनि धादिङबाट हालै मात्र पहिलोपटक काठमाडौंका लागि आरामदायक तथा सुविधासम्पन्न एसी डिलक्स बससेवा सञ्चालनमा आएको छ । धादिङ मण्डली यातायात प्रा.लि.द्वारा सञ्चालित एसी डिलक्स सेवासहितको बस एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

सदरमुकाम धादिङबेशीबाट काठमाडौंका लागि छुट्ने प्रदेश–३–०१००५ख ९५३७ नम्बर बसको नीलकण्ठ नगरपालिका धादिङका मेयर भीमप्रसाद ढुङ्गानाले रिबन काटेर शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले सुरक्षित यात्रा गराएर यात्रुहरूलाई अधिकतम सेवा दिन आग्रह गरे । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर राखेर सुविधायुक्त बससेवा थपिनु जिल्लावासीको निम्ति मात्र नभई सम्बन्धित यात्रु एवम् समस्त सरोकारवालाका लागि सुखद पक्ष रहेको उनको भनाइ थियो । मेयर ढुङ्गानाले बसमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अपाङ्ता भएका र ज्येष्ठ नागरिकलाई विशेष सिट र सहुलियत भाडादर उपलब्ध गराउन आग्रह गरे ।

धादिङ मण्डली यातायात प्रा.लि.द्वारा सञ्चालित एसी, सीसीटीभी, वाइफाईसहितको डिलक्स बसको धादिङ–काठमाडौंको भाडा रु. ३ सय कायम गरिएको सो कम्पनीका अध्यक्ष शरद अधिकारीले जानकारी दिए । नेपाल सरकारले अपाङ्गता र ज्येष्ठ नागरिकहरूलाई दिएको भाडा छुट आफ्नो कम्पनीले पनि प्रदान गर्ने बताउँदै उनले यातायात ब्यवसायीमाथि राज्यको दृष्टिकोण फरक रहने गरेको गुनासो गरे । सवारी दुर्घटनामा पर्दा उपचारको नाममा लुट धन्दा चलाउने, बिमाको परिधिभित्र रहनुपर्नेजस्ता कुरामा चाहिँ राज्यको भूमिका नरहने तर व्यवसायीले दिनुपर्ने छुटलगायतका सवालमा भने सबै पक्षले दबाब दिने गर्नु कानुनी राज्यविपरीतको कुरा भएको उनको भनाइ थियो ।

हाल शरद अधिकारीको नेतृत्वमा धादिङमा ठूला सवारीसाधनको क्यु–डायलमा एकरूपता ल्याई धादिङमा रहेका तीनवटा समितिको डायल एउटै बनाउने कार्यसमेत गरिएको छ । यसबाट दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।