एकल प्राज्ञ महिलाको प्रधानमन्त्रीसँग अनुरोध

एकल प्राज्ञ महिलाको प्रधानमन्त्रीसँग अनुरोध


सम्माननीय प्रधानमन्त्रीज्यू,
आमसञ्चार र पत्रकारिताका क्षेत्रमा समयको मागअनुसार दक्ष जनशक्तिको खाँचोलाई दृष्टिगत गरी यसै विषयमा मात्र समर्पित रही २०५७ सालदेखि निजी क्षेत्रबाट कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन सफलतापूर्वक सञ्चालन भइरहेको श्रीमानमा अवगत नै छ ।

एक एकल महिलाको परिश्रम र समर्पणबाट सफलतापूर्वक सञ्चालन हुँदै आएको आमसञ्चार र पत्रकारिता विषयका विभिन्न विधामा स्नातक र स्नातकोत्तर तहको अध्यापन गरिने यस कलेजबाट हालसम्म पाँच सयजना विद्यार्थीहरू दीक्षित भइसकेका छन् । यसका अतिरिक्त नेपालका विद्यार्थीलाई विदेशमा गई आफ्नो आत्मविश्वास, अनुभव तथा ज्ञानको दायरा फराकिलो बनाउने अवसर प्रदान गर्न यस कलेजले विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयहरूमा समेत छात्रवृत्तिमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई ७० जनाभन्दा बढी अध्ययन गर्न र काममा पठाइसकेकोे छ । त्यसरी विदेशमा पढ्न गएका विद्यार्थीले यस कलेजले दिएको क्षमता र आत्मविश्वासका कारण विदेशमा स्वर्ण पदकसमेत प्राप्त गर्न सफल भएका छन् ।

विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयसँग रहेको यस कलेजको अत्यन्त सौहार्द र घनिष्ठ द्विपक्षीय प्राज्ञिक सम्बन्धका आधारमा प्राप्त छात्रवृत्तिबाट १३ जना विद्यार्थी बंगलादेश र विभिन्न अफ्रिकी मुलुकहरूमा काममा र सभा सेमिनारमा भाग लिन गई लाभान्वित भएका छन् । यसका साथै यस कलेजले प्राप्त गर्दै गएको ख्यातिका कारण हालसम्म पाँचजनाले विद्यावारिधिका लागि शोध कार्य गरिरहेका छन् ।

यस कलेजले अफ्रिका महादेशसँग प्राज्ञिक सम्बन्ध विस्तार गरेकोबारे पनि श्रीमान्मा जानकारी गराउन पाउँदा हामी हर्षित छौँ । यसै सम्बन्धको क्रममा आमसञ्चार र पत्रकारिता विषयअन्तर्गत पर्ने सिनेमा विधामा ठोस कार्य गरिँदै आएको छ ।

आजभन्दा १९ वर्षअघि तत्कालीन सोभियत सङ्घबाट आमसञ्चार र पत्रकारिता विषयमै विद्यावारिधि गरी स्वदेश फर्केपछि यसै क्षेत्रमा पूर्णतया समर्पित रही क्रियाशील रहँदै आएको कारणले यो प्रस्तावित विश्वविद्यालयको स्थापना, सञ्चालन र यसलाई अघि बढाउने मार्ग चित्रबारे म आफू र मेरा सहयोगी समूह स्पष्ट रहेको पनि श्रीमान्मा निवेदन गर्दछु । मौजुदा विश्वविद्यालयको सम्बन्धनअन्तर्गत रहेर मात्र कलेज सञ्चालन गर्दा समयको माग र आमसञ्चारको प्रकृतिअनुसार प्राज्ञिक गतिविधिहरूलाई लक्ष्यअनुरूप अघि बढाउन कठिनाइ हुने गरेको हामीले अनुभव गरेका छौँ ।

आमसञ्चार तथा पत्रकारिता क्षेत्रको बढ्दो व्यापकतालाई ध्यानमा राख्दा नेपालमा निजी क्षेत्रबाट एक अलग अस्तित्वको गैरनाफामुखी आमसञ्चार तथा पत्रकारितासम्बन्धी विषयगत विश्वविद्यालय स्थापना हुनु अत्यावश्यक भइसकेकोले यस विश्वविद्यालयको प्रस्ताव शिक्षा मन्त्रालयमा २०६१ सालमैै प्रस्तुत गरिएको हो । उक्त प्रस्तावप्रति शिक्षा मन्त्रालयलगायत विभिन्न सम्बन्धित निकायहरूको सकारात्मक धारणा रहँदारहँदै पनि आजसम्म यस प्रस्तावले विभिन्न चरणमा हुने गरेका विलम्बका कारण मूर्तरूप लिन सकेको छैन ।

अतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो राम्रो छवि बनाइसकेको र आफ्नै स्वामित्वमा भौतिक पूर्वाधारको समेत व्यवस्थापन गरिसकेको यस कलेजलाई आफ्नो लक्ष्यमा अघि बढ्नका लागि विषयगत विशेषज्ञतायुक्त आमसञ्चार विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्रदान गरी दीर्घकालीन महत्वको ऐतिहासिक कार्यमा योगदान पु¥याइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

विगत डेढ दशकदेखि सफलतापूर्वक सञ्चालन भइरहेको आमसञ्चार तथा पत्रकारिता विषयको देशको पहिलो कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकै प्राज्ञिक तथा भौतिक पूर्वाधारमा खडा हुने यस प्रस्तावित विश्वविद्यालयलाई स्वीकृति दिलाउनेबारे आवश्यक प्रक्रिया अविलम्ब अघि बढाई विगत १४ वर्षदेखि एउटी समर्पित एकल महिलाले गरिरहेको अनवरत प्रयासलाई सफलीभूत बनाई देशमा गर्व गर्न लायक एक नमुना कामलाई साकार रूप दिलाउन सकारात्मक भूमिका खेलिदिनुहुन विनम्र निवेदन गर्दछु

– डा. मञ्जु मिश्र
संस्थापक प्रिन्सिपल, कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन