समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुऱ्याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । उनले यात्राको थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए । संविधान जारी भएपछि आमनिर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुईवर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रूपमा लिएको बताए ।

प्रधानमन्त्री ओलीले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानुन र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रस्ट्याए । ‘त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दै छन्,’ प्रधानमन्त्री ओलीले भने ।

वि.सं. २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रूपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएको उल्लेख गरे । उनले देशभित्र र देशबाहिर रहेका आमनेपालीलाई दिवसको अवसरमा शुभकामनासमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानियाँ निरंकुशता र बर्बरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा स्मरण गरे । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्यवस्थाबाट सुव्यवस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्षअघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आमनेपालीलाई आह्वान गरे ।

प्रजातन्त्रको हकअधिकार स्थापनाका लागि विगतमा भएको अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीरविरांगनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए । उनले भने, ‘आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।’

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्नि सापाकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री गण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो । सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
रासस