महरालाई किन दिए प्रचण्डले बधाई ?

महरालाई किन दिए प्रचण्डले बधाई ?


संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ मिलेपछि ‘सत्यको जित’ भयो भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई बधाई दिने होड नै चलेको छ यतिबेला । शुभचिन्तक, प्रशंसक, समर्थक एवम् महरालाई आदर्श मान्ने कार्यकर्ता–पङ्क्तिबाट बधाई र जयजयकार गरिनु अनौठो कुरा पनि होइन । तर, महरालाई प्राप्त ‘बधाई’हरूमध्ये एउटा बधाई अर्थपूर्ण मानिएको छ– प्रचण्डको बधाई ।

महराले सफाइ पाएको समाचार सार्वजनिक भएलगत्तै बधाई दिनेमा प्रचण्ड र माधव नेपाल थिए । एउटै पार्टीका नेता हुनुको नाताका अलावा आफूसँग विशेष निकट व्यक्तिका रूपमा चिनिएका महरालाई प्रचण्डले बधाई दिनु स्वाभाविक पनि हो, सतही रूपमा बुझ्नुपर्दा । तर, प्रचण्डको बधाई महराले सफाई पाएको खुसियालीमा भन्दा पनि ‘भयग्रस्त’ मानसिकताको उपज भएको बुझिएको छ ।

सम्बद्ध निकट सूत्रका अनुसार महराले सफाइ पाएपछि प्रचण्ड उनीसँग त्रस्त हुन पुगेका छन् । आफैँले यो उचाइमा पुऱ्याएका व्यक्तिसँग त्रसित हुनुपर्ने के कारण होला भन्ने जिज्ञासाको समग्र जवाफ पाउन समय कुर्नैपर्छ, तर एउटा कारणचाहिँ खुलासा भएको छ ।

स्रोतका अनुसार महराले महिलामाथि बलात्कार प्रयास गरेको घटनालगत्तै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई समेत साक्षी राखेर महरालाई बालुवाटार बोलाई केरकार गरेका थिए । सो क्रममा महराले आफ्नाबारे समाचारमा आएका कुरा सत्य नभएको, आफू घटना भएको भनिएको ठाउँमा जाँदै नगएको जवाफ दिएका थिए । महराको यस्तो जवाफलाई प्रचण्डले परिस्थितिका आधारमा सामान्य ढङ्गमा लिइदिनुको साटो ‘झुट बोलेर अप्ठ्यारोमा पार्न खोजेको’ रूपमा लिइदिए । अचानक आइपरेको दुर्दिनका कारण हतास बनेका महरालाई ढाडस दिनुको साटो उल्टै हप्काउँदै सभामुख ओहोदाबाट राजीनामा गर्न निर्देशन दिएर उनलाई बाहिर पठाइयो । कमसेकम प्रचण्डबाट उनले यस्तो आस गरेका थिएनन् । यो घटना महराका लागि जीवनका भुल्न नसकिने सन्दर्भ थियो ।

महराले यति चाँडै अदालतबाट सफाइ पाउलान् भन्ने प्रचण्डले ठानेका थिएनन् । त्यसैले महरासँग अत्तालिएका उनले हत्तपत्त बधाई दिएका थिए । स्रोतका अनुसार प्रचण्डले फोनबाट दिएको बधाईको महराले खास रेस्पोन्स पनि गरेनन् । पछि कुरा गरौँला भन्दै उनले प्रचण्डसँगको फोन संवाद केही सेकेन्डमै टुङ्ग्याएका थिए ।

डिल्लीबजार कारागारबाट निस्कनेबित्तिकै महरा सरासर प्रचण्डनिवास गएको भनी मिडियामा आएका समाचार पनि साँचो नभएको बुझिएको छ । जेलबाट महरा आफ्ना छोराछोरीलगायतका परिजनका साथ सोझै आफ्नै बासस्थान गएका थिए । महराको हालको डेरा प्रचण्डको भव्य निवासभन्दा केही परको दूरीमा पर्छ । सभामुखको क्वाटर छाडेपछि महरा परिवार पहिले बस्दै आएको ललितपुरको सानेपास्थित घरमै सर्न खोजेको थियो, तर उक्त घर खाली नभएको कारण डेरा खोज्ने क्रममा खुमलटार बस्न पुगेका थिए । यसबारे जानकारी नभएकोले महरा डिल्लीबजारबाट खुमलटारतर्फ लागेको कुरालाई प्रचण्डलाई भेट्न नै गए होलान् भन्ने अनुमानका आधारमा समाचार प्रेसित भएको स्रोत बताउँछ ।

वास्तवमा प्रचण्डको व्यवहारबाट महरा निकै दुखित बनेका छन् । उचित समयमा ‘पैँचो तिर्ने’ मानसिकतासमेत उनले यतिबेला बनाएका बताइन्छ । आफूलाई अपमानित तुल्याउनेहरूको विरुद्ध अदालतकै ढोका ढकढक्याउनेबारे पनि महराले विचार गरिरहेको बुझिएको छ ।